काठमाडौ । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले संसदीय राजनितीबाट सन्यास लिएको घोषणा गरेका छन् ।
आइतबार सामाजिक सञ्जालमार्फत उनले पदको राजनीतिबाट टाढा रहने तर जनताको अधिकार र पहिचानका लागि संघर्षको राजनीति भने जारी राख्ने बताएका हुन्।
राउतले पार्टीलाई आवश्यकता रहेसम्म आफू नेतृत्वमा रहेर अगाडि बढाउने पनि स्पष्ट पारेका छन्। उनले दुई पटक व्यक्तिगत इच्छा विपरीत संसदीय निर्वाचन लडेको उल्लेख गर्दै एक पटक जित र एक पटक हार भए पनि दुवै निर्णयप्रति आफू सन्तुष्ट रहेको बताएका छन्।
उनका अनुसार २०७५ सालमा ‘स्वतन्त्र मधेश गठबन्धन’लाई सरकारले काम गर्न नदिएपछि र जनतामाझ जान समेत रोक लगाइएपछि नयाँ पार्टी खोल्ने निर्णय गरिएको थियो। सो क्रममा अन्य नेताहरूलाई अध्यक्ष बन्न आग्रह गर्दा सहमत नभएपछि आफू नै जनमत पार्टीको अध्यक्ष बन्नु परेको उनले बताएका छन्।


