काठमाडौं । गृहमन्त्री सुदन गुरुङले आफ्नो पदबाट राजीनामा दिएका छन्।
गुरुङले सामाजीक सञ्जालमार्फत आफूसँग सम्बन्धित विषयमा उठेका प्रश्न र जनचासोलाई गम्भीर रूपमा लिँदै नैतिक जिम्मेवारी बहन गर्ने उद्देश्यले पदबाट राजिनामा दिएको जानकारी दिएका हुन् ।
गुरुङले पछिल्ला दिनहरूमा आफ्नो शेयर लगायतका विषयमा नागरिक स्तरबाट उठेका प्रश्नहरूलाई ध्यानमा राख्दै उनले निष्पक्ष छानबिनका लागि मार्ग प्रशस्त गर्न राजीनामा दिएको स्पष्ट पारेका छन्।
उनका अनुसार पदभन्दा ठूलो कुरा नैतिकता र जनविश्वास भएकाले पदमा रहँदा स्वार्थको द्वन्द्व नहोस् भन्ने उद्देश्यले उक्त निर्णय लिइएको हो।
उनले देशमा सुशासन, पारदर्शिता र जवाफदेहिताको माग बढिरहेको उल्लेख गर्दै युवा पुस्ताबाट उठिरहेको आन्दोलनले सार्वजनिक जीवन स्वच्छ हुनुपर्ने सन्देश दिएको बताएका छन्।
आफ्नो निर्णयलाई नैतिक जिम्मेवारीको रूपमा प्रस्तुत गर्दै अब सत्य, इमानदारी र आत्मशुद्धिको बाटोमा सबै उभिनुपर्नेमा जोड दिएका छन्। साथै, उनले सञ्चारकर्मी तथा सर्वसाधारणलाई जिम्मेवार र निष्पक्ष भूमिका निर्वाह गर्न अपिल गरेका छन्।



