काठमाडौं । नेपाल टेलिकमले देशका विकट तथा दुर्गम स्थानहरूमा स्याटेलाइट प्रविधिमा आधारित जीएसएम मोबाइल तथा भीस्याट टेलिसेन्टर उपकरण जडान गरी टुजीमा आधारित मोबाइल, टेलिफोन र डाटा सेवा विस्तार गर्दै आएको छ ।
चालु आर्थिक वर्षमा डोल्पाको उपल्लो क्षेत्रमा पर्ने कुगाउँ र निजाल, दोलखाको च्छो–रोल्पा पदमार्गस्थित ना–गाउँ तथा रसुवाको गोसाईकुण्ड पदमार्गअन्तर्गत चन्दनबारीमा स्याटेलाइटमार्फत मोबाइल सेवा विस्तार गरिएको छ । यससँगै कम्पनीले हाल देशभर ३८ स्थानमा यस्तो प्रविधिबाट सेवा प्रवाह गरिरहेको छ, जसमा सबैभन्दा धेरै १४ साइट डोल्पामा रहेका छन् ।
डोल्पासहित हुम्ला, मुगु, मनाङ, दोलखा, ताप्लेजुङ, सोलुखुम्बु, रसुवा, दार्चुला, बाजुरा र जुम्लाका विभिन्न दुर्गम बस्तीहरूमा समेत यस्ता साइट स्थापना गरिएका छन् । भौगोलिक रूपमा कठिन र न्यून जनसंख्या भएका क्षेत्रहरूमा सेवा पुर्याउन कम्पनीले हेलिकप्टरमार्फत उपकरण ढुवानी गरेर पनि दूरसञ्चार सेवा उपलब्ध गराउँदै आएको छ ।
यी स्थानहरूमा गरिएको लगानी व्यावसायिक रूपमा लाभदायक नभए पनि ‘राष्ट्रको सञ्चार’ भन्ने मूल नारालाई सार्थक बनाउन यस्तो पहल गरिएको कम्पनीले जनाएको छ । आगामी दिनमा यस्ता साइटहरूलाई थप आधुनिक प्रविधिमार्फत स्तरोन्नति गर्ने योजना समेत अघि बढाइएको छ ।
यसैबीच, टेलिकमले ब्याकबोन ट्रान्समिसन परियोजनामार्फत अप्टिकल फाइबर नेटवर्क विस्तारलाई तीव्रता दिएको छ । पूर्व–पश्चिम तथा उत्तर–दक्षिण करिडोरसँगै सहरी, अर्धसहरी र ग्रामीण क्षेत्रमा उच्च क्षमतायुक्त तथा भरपर्दो डाटा सेवा सुनिश्चित गर्न काम भइरहेको छ ।
ब्याकबोन सुदृढीकरण कार्यक्रमअन्तर्गत अप्टिकल फाइबर केबल विस्तार, अन्डरग्राउन्ड नेटवर्क निर्माण तथा माइक्रोवेभ लिंक अपग्रेड जस्ता कार्यहरू अघि बढिरहेका छन् । साथै, उच्च क्षमतायुक्त राउटर तथा डीडब्लुडीएम उपकरण जडानमार्फत नेटवर्क क्षमता विस्तार गरिएको छ भने वैकल्पिक लिंक स्थापना गरी सेवा निरन्तरतामा समेत सुधार गरिएको छ ।
दुर्गम क्षेत्रमा भरपर्दो दूरसञ्चार सेवा सुनिश्चित गर्न सम्बन्धित निकायहरूसँग समन्वय, मर्मतसम्भार तथा पूर्वाधार संरक्षणका कार्यहरू समेत सँगसँगै अघि बढाइँदै आएका छन् ।



