काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् सम्बन्धी विधेयक फिर्ता पठाएका छन् ।
राष्ट्रपति कार्यालयले आइतबार जारी गरेको विज्ञप्ति अनुसार “संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०७६” लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरणका लागि पेश गरिएको थियो । तर, त्यसलाई अहिले नै अनुमोदन नगरी पुनः विचार गर्न आवश्यक ठहर गर्दै फिर्ता पठाइएको हो ।
मन्त्रिपरिषद्को सिफारिस र सम्बन्धित विषयको समग्र सन्दर्भ हेर्दा विधेयकमा थप छलफल र सुधार आवश्यक देखिएको राष्ट्रपति कार्यालयको भनाइ छ । साथै, यसअघि जारी भएको पहिलो संशोधन अध्यादेशसँग सम्बन्धित विषयलाई पनि ध्यानमा राखेर पुनर्विचार गर्न भनिएको छ ।
राष्ट्रपति कार्यालयका प्रवक्ताले सरकारलाई विधेयक पुनः अध्ययन गरी आवश्यक निर्णय लिन आग्रह गरिएको जानकारी दिएका छन् ।




