काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को रिजल्ट सार्वजनिक गरेको छ । बोर्डका अनुसार यस वर्ष एसईई मा ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
कुल ४ लाख ३० हजार ६६७ विद्यार्थी परीक्षामा सहभागी भएका थिए । त्यसमध्ये २ लाख ८४ हजार १६० विद्यार्थी उत्तीर्ण भएका छन् भने १ लाख ४६ हजार ५०७ विद्यार्थीको नतिजा एनजी आएको छ ।
नतिजाअनुसार सबैभन्दा धेरै विद्यार्थी २.८० देखि ३.२० जीपीए समूहमा रहेका छन् । यस समूहमा ९४ हजार २२२ विद्यार्थी रहेका छन् । यस्तै ३.२० देखि ३.६० जीपीए ल्याउने विद्यार्थीको संख्या ८० हजार ३७२ रहेको छ ।
त्यसैगरी ३.६० देखि ४.०० जीपीए ल्याउने विद्यार्थी ४८ हजार ३९२ रहेका छन् भने २.४० देखि २.८० जीपीए ल्याउने ५५ हजार ९७७ विद्यार्थी रहेका छन् ।
२.०० देखि २.४० जीपीए ल्याउने विद्यार्थीको संख्या ५ हजार १९० रहेको छ भने १.६० देखि २.०० जीपीए ल्याउने विद्यार्थी केवल ७ जना रहेका छन् ।
यस वर्षको एसईई नतिजाले औसत उत्तीर्ण प्रतिशत ६५.९८ पुगेको देखाएको छ ।



