काठमाडौं । फिफा विश्वकप २०२६ को समूह चरणका रोमाञ्चक र उतारचढावपूर्ण खेलहरू समाप्त भएसँगै ‘राउन्ड अफ ३२’ अर्थात् नकआउट चरणको पूर्ण तालिका सार्वजनिक भएको छ ।
इतिहासमै पहिलो पटक ४८ टोली सहभागी यस विश्वकपमा प्रत्येक समूहका शीर्ष दुई र उत्कृष्ट तेस्रो स्थान हासिल गर्ने आठ वाइल्डकार्ड टोलीहरू गरी कुल ३२ टोलीले उपाधिका लागि नकआउटमा खेल्नेछन् । आइतबार (जुन २८) देखि सुरु हुने यस चरणमा अब हुने एउटै हारले टोलीको विश्वकप यात्रा समाप्त गर्नेछ ।
नकआउट चरणको उद्घाटन खेलमा समूह ‘ए’ को उपविजेता दक्षिण अफ्रिका र समूह ‘बी’ को उपविजेता क्यानडा आमनेसामने हुँदैछन् । यस्तै, दोस्रो खेलमा बलियो जर्मनीले वाइल्डकार्ड टोली पराग्वेको सामना गर्नेछ भने पाँच पटकको विश्वविजेता ब्राजिलले एसियाली पावरहाउस जापानसँग खेल्नेछ । चौथो खेलमा उत्कृष्ट लयमा रहेको नेदरल्यान्ड्स र अफ्रिकी उपविजेता मोरक्कासंग भिड्नेछन् ।
असार १४ गते आइतबार (जुन २८) देखि असार २० गते शनिबार (जुलाई ४) सम्म विभिन्न रंगशालामा समूह चरणका रोमाञ्चक खेलहरू हुनेछन्। पहिलो दिन दक्षिण अफ्रिकाले क्यानडासँग राति ११ः४५ बजे लस एन्जलसको सोफाई स्टेडियममा प्रतिस्पर्धा गर्नेछ भने असार १५ गते बिहान ३ः१५ बजे जर्मनीले पाराग्वेसँग बोस्टनको जिलेट स्टेडियममा खेल्नेछ। सोही दिन राति ९ः४५ बजे ब्राजिल र जापानबीच ह्युस्टनको एनआरजी स्टेडियममा खेल हुनेछ। त्यसपछि असार १६ गते बिहान १ः४५ बजे नेदरल्यान्ड्स र मोरक्कोबीच गुआडालुपे, मेक्सिकोस्थित इस्टाडियो बीबीभीएमा प्रतिस्पर्धा हुनेछ।
असार १६ गते राति ९ः४५ बजे आइभोरी कोस्टले नर्वेसँग डलासको एटी एन्ड टी स्टेडियममा खेल्नेछ। असार १७ गते बिहान १ः४५ बजे फ्रान्स र स्वीडेन न्यु जर्सीस्थित मेटालाइफ स्टेडियममा आमनेसामने हुनेछन् भने बिहान ५ः४५ बजे मेक्सिको र इक्वेडरबीच मेक्सिको सिटीको इस्टाडियो एस्टेकामा खेल हुनेछ। सोही दिन राति ८ः४५ बजे इङ्गल्याण्डले प्रजातान्त्रिक गणतन्त्र कङ्गोसँग एटलान्टाको मर्सिडिज–बेन्ज स्टेडियममा प्रतिस्पर्धा गर्नेछ।
असार १८ गते बिहान ६ः४५ बजे बेल्जियम र सेनेगलबीच सिएटलको लुमेन फिल्डमा खेल हुनेछ भने बिहान १०ः४५ बजे संयुक्त राज्य अमेरिकाले बोस्निया एण्ड हर्जगोभिनासँग क्यालिफोर्नियाको लेभिस स्टेडियममा प्रतिस्पर्धा गर्नेछ। सोही दिन राति ९ः४५ बजे स्पेन र अस्ट्रियाबीच लस एन्जलसको सोफाई स्टेडियममा खेल हुनेछ। असार १९ गते बिहान २ः४५ बजे पोर्चुगल र क्रोएसियाबीच टोरन्टोको बीएमओ फिल्डमा प्रतिस्पर्धा हुनेछ भने बिहान ६ः४५ बजे स्विट्जरल्याण्ड र अल्जेरियाबीच भ्यानकुभरको बीसी प्लेसमा खेल हुनेछ। त्यसै दिन राति १०ः४५ बजे अष्ट्रेलिया र इजिप्टबीच डलासको एटी एन्ड टी स्टेडियममा खेल हुनेछ।
समूह चरणको यस चरणका अन्तिम खेलहरू असार २० गते बिहान हुनेछन्। बिहान १ः४५ बजे अर्जेन्टिना र केप भर्डेबीच मियामीको हार्ड रक स्टेडियममा प्रतिस्पर्धा हुनेछ भने बिहान ५ः४५ बजे कोलम्बिया र घानाबीच कान्सास सिटीको एरोहेड स्टेडियममा खेल हुनेछ।
अब नकआउट चरणमा प्रत्येक खेल निर्णायक हुनेछ । विजयी टोली क्वार्टरफाइनलमा प्रवेश गर्नेछ भने पराजित टोलीको विश्वकप यात्रा त्यहीँ समाप्त हुनेछ । उपाधि दाबेदार टोलीहरूबीच हुने रोमाञ्चक प्रतिस्पर्धासँगै केही नयाँ टोलीले इतिहास दोहोर्याउने वा नयाँ इतिहास रच्ने अपेक्षा गरिएको छ ।



