काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले माटो सुधारका लागि प्राङ्गारिक मलको प्रयोग बढाउन किसानलाई आग्रह गरेकी छन्। धनुषाका विभिन्न कृषि क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री चौधरीले स्थानीय स्रोतबाट उत्पादन हुने गोठे मल तथा प्राङ्गारिक मलको प्रयोगमा जोड दिएकी हुन्।
धनुषाको कृषि क्षेत्रलाई प्राथमिकतामा राख्दै मन्त्री चौधरीले महिला कृषकद्वारा सञ्चालित कस्टम हायरिङ सेन्टर, माछापालन तथा आँप बगैंचाको निरीक्षण गरेकी छन्। किसानको खेतमै पुगेर उनले माटो सुधार नै कृषि सुधारको आधार भएको बताइन्।
“माटो सुधार नै कृषि सुधारको आधार हो। स्थानीय स्रोतबाट बनेका गोठे मल र प्राङ्गारिक मलको प्रयोग बढाउन सबै किसानलाई आग्रह गर्दछु,” मन्त्री चौधरीले भनिन्। उनले प्राङ्गारिक मलको प्रयोग बढे रासायनिक मलमाथिको निर्भरता घट्ने र दीर्घकालीन रूपमा माटोको गुणस्तर सुधार हुने बताइन्।
मन्त्री चौधरीले लक्ष्मीनियाँ गाउँपालिका–७ स्थित महिला साना किसान कृषि सहकारी संस्था लिमिटेडअन्तर्गत सञ्चालित कस्टम हायरिङ केन्द्रको निरीक्षण गरेकी छन्। केन्द्रमार्फत किसानलाई आधुनिक कृषि उपकरण सहुलियत दरमा भाडामा उपलब्ध गराउँदै आएको छ।
निरीक्षणका क्रममा मन्त्री चौधरीले किसानलाई स्थानीय स्रोतबाट बनेका मल प्रयोग गर्न प्रोत्साहित गर्दै कृषि उत्पादन वृद्धि र दिगो खेती प्रणालीका लागि यस्ता अभ्यास आवश्यक रहेको बताइन्।
यसैगरी, मन्त्री चौधरीले बटेश्वर गाउँपालिका–५, शान्तिपुरस्थित अन्नपूर्ण माछापालन कम्पनी प्रा।लि। को पनि अवलोकन गरेकी छन्। कम्पनीले व्यावसायिक माछापालनसँगै माछाका भुरा, दाना तथा आवश्यक औषधि उपलब्ध गराउँदै स्थानीय मत्स्य व्यवसायलाई सहयोग पुर्याउँदै आएको जनाएको छ।
त्यस्तै, मन्त्री चौधरीले धनुषाको चित्रनगरस्थित आँप बगैंचाको समेत अवलोकन गर्दै कृषि क्षेत्रका सम्भावना र चुनौतीबारे जानकारी लिएकी छन्।



