शनिबार, आश्विन २४ गते २०८३
images

विधान मिचेर गरिने महाधिवेशन मान्य हुँदैन, विधिको शासनका लागि सम्झौता गर्दैनौँ:प्रकाशमान सिंह

एक्सप्रेस पाना
आश्विन २, २०८३ शुक्रबार
  • 131
    SHARES
  • विधान मिचेर गरिने महाधिवेशन मान्य हुँदैन, विधिको शासनका लागि सम्झौता गर्दैनौँ:प्रकाशमान सिंह

    काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको विधान, नियम र परम्परालाई लत्याएर गरिने कुनै पनि गतिविधि मान्य नहुने बताएका छन् । 

    images

    २९ औँ गणेशमान सिंह स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै नेता सिंहले पार्टीभित्र विधिको शासन र आन्तरिक लोकतन्त्र कमजोर पार्ने प्रयास भइरहेको भन्दै आपत्ति जनाए ।

    पार्टीभित्र देखिएको पछिल्लो विवाद र महाधिवेशनका सन्दर्भमा पत्रकारहरूसँग कुरा गर्दै उनले कांग्रेस विधान र संविधानको दायराभित्रै रहेर अघि बढ्नुपर्नेमा जोड दिए ।

    images

    १४ औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिले नै विधिसम्मत रूपमा १५ औँ महाधिवेशन गराउनुपर्ने उनको अडान छ ।

    ‘नेपाली कांग्रेस पार्टी विधिको शासन स्थापित गर्नका लागि जन्मिएको हो, तर पार्टीभित्रै विधिको शासनलाई तोडमोड गर्दा चुप लागेर बस्न सकिँदैन,’ नेता सिंहले भने, ‘विधानलाई मिचेर जबर्जस्ती विशेष महाधिवेशन गरी अघि बढ्न खोज्नु गलत हो। यस्ता अलोकतान्त्रिक अभ्यासले पार्टीभित्र अधिनायकवाद जन्माउँछ ।’

    केही नेताहरूले धार परिवर्तन गरेको विषयमा टिप्पणी गर्दै उनले इतिहासमा पनि यस्ता विचलन देखिने गरेको स्मरण गराए । २०१७ सालको ‘कू’ पछि कतिपय नेताहरू व्यक्तिगत सुविधा र पदका लागि पञ्चायत प्रवेश गरे पनि बीपी कोइराला, गणेशमान सिंहलगायतका नेताहरूले सिद्धान्त र निष्ठाको राजनीति नछोडेको उनले उल्लेख गरे ।

    निष्ठाको राजनीति भाषणमा नभई व्यवहारमै कठिन हुने भन्दै उनले आफूहरू मूलभूत सिद्धान्तमा कहिल्यै सम्झौता नगर्ने स्पष्ट पारे ।

    अदालतमा दायर रिट खारेज भएको प्रसंगमा उनले कानुनी र राजनीतिक मुद्दा फरक हुने बताए। 

    ‘स्वतन्त्र न्यायपालिकाको निर्णयलाई हामी सम्मान गर्छौँ, तर राजनीतिक एजेन्डाको फैसला पार्टीले नै गर्ने हो,’ उनले भने, ‘पार्टी विधानअनुसार चार वर्ष र विशेष परिस्थितिमा एक वर्ष थप गरी पाँच वर्ष तथा संविधानअनुसार साढे पाँच वर्षभित्र महाधिवेशन गर्नुपर्ने व्यवस्था छ। हामी यही व्यवस्थाअनुसार नै अघि बढ्छौँ, महाधिवेशन रोकिँदैन ।’

    यसअघि सम्बोधनका क्रममा नेता सिंहले लौहपुरुष गणेशमान सिंहको जन्मस्थानबारे सञ्चारमाध्यममा भ्रम रहेको भन्दै सच्याउन आग्रह गरे । 

    गणेशमान सिंह क्षेत्रपाटी चाक्सीबारी नभई येँखा घरमा जन्मनुभएको र चाक्सीबारीको घर २००९ सालमा किनेर परिवार पछि सरेको उनले जानकारी दिए । 

    गणेशमान सिंहले देश र जनताको अधिकारका लागि ६ दशक लामो राजनीतिक जीवनमा ३० वर्षभन्दा बढी समय जेल र निर्वासनमा बिताएको तथा २०४६ सालको जनआन्दोलनपछि राजाले दिएको प्रधानमन्त्री पदसमेत त्याग गरेर कृष्णप्रसाद भट्टराईलाई सिफारिस गरेको इतिहासबाट नयाँ पुस्ताले पाठ सिक्नुपर्ने उनले बताए ।

  • सम्बन्धित विषय:

  • # प्रकाशमान सिंह