एजेन्सी । युरोपको सबैभन्दा ठूलो क्लब फुटबल प्रतियोगिता युइएफए च्याम्पियन्स लिगमा जर्मन बुन्डसलिगा फुटबल क्लब बायर्न म्युनिख र स्पेनिस ला लिगा फुटबल क्लब बार्सिलोना विजयी भएका छन् ।
मंगलबार रातिको समूह ‘ई’ को खेलमा बायर्नले फरवार्ड रोवर्ट लेवान्डोस्कीको ह्याट्रिक मद्दतमा पोर्चुगिज क्लब एसएल बेन्फिकालाई ५-२ गोल अन्तरले पराजित गरेकाे हाे । घरेलु मैदानमा बायर्नको जितमा लेवान्डोस्कीले ह्याट्रिक पूरा गर्दा सर्जी जिनाब्री र लिरोए सानेले १-१ गोल गरे । बेन्फिकाका लागि फिलिप मोराटो र डार्विन नुनेजले १-१ गोल गरे ।
यता बार्सिलोनाले युक्रेनी क्लब ड्यनामो केईभलाई १-० गोल अन्तरले पराजित गर्दै च्याम्पियन्स लिगमा दोस्रो जित हासिल गरेकाे छ । र अन्शु फातीको निर्णायक गोलमा ड्यानामोलाई बार्सिलोनाले पराजित गरेकाे छ ।
युवा फरवार्ड अन्शुले खेलको ७०औं मिनेटमा गोल गरेका थिए । बाँकी समय गोल हुन नसक्दा च्याम्पियन्स लिगमा दोस्रो जित निकाल्यो ।
समूहको खेलसँगै ४ खेलका शतप्रतिशत जितसहित १२ अंक बनाएको बायर्न शीर्ष स्थानमा रहँदै अन्तिम १६ मा स्थान बनाइसकेको छ । बायर्न २ खेलअघि नै प्रिक्वाटरफाइनलमा स्थान बनाएको छ । बार्सिलोना ४ खेलबाट २ जित र २ हारका साथ ६ अंक बनाएर दोस्रो स्थानमा छ । बार्सिलोनाको भने अन्तिम १६ यात्राको सम्भावना कायम छ । ४ अंक बनाएको बेन्फिका तेस्रो स्थानमा रहँदा ड्यनामो केईभ १ अंकका साथ तालिकाको पुछारमा छ ।


