कात्तिक १७ काठमाडौं । इटालीयन सिरी ए फुटबल क्लब युभेन्ट्स युइएफए च्याम्पियन्सको अन्तिम १६ मा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा रसियन क्लब जेनिट पिटरस्बर्गलाई ४-२ गोल अन्तरले पराजित गर्दै युभेन्ट्सले क्वाटरफाइनलमा स्थान पक्का गरेको हो ।
युभेन्ट्सको जितमा कप्तान पाउलो डिबलाले २ गोल गरे । यस्तै फेडेरिको चिएसा र अल्भारो मोरटाले १/१ गोल गरे । यता पराजित पिटरस्बर्गको लागि सरदार अज्माउनले १ गोल गर्दा युभेन्ट्स डिफेण्डर लिओनार्दो बोनुचीले आत्माघाति गोल गरे ।
घरेलु मैदान टुरिनमा युभेन्ट्सका डिबलाले सुरुवाती अग्रता दिलाए । ११औं मिनेटमा डिबलाले गोल गर्दा बोनुचीले २६औं मिनेटमा आफ्नै पोष्टमा गोल गरेका थिए । त्यस्तै ५८औं मिनेटमा डिबलाले पेनाल्टीमा गोल गर्दा युभेन्ट्सले २-१ को अग्रता बनायो । यसपछि खेलको ७३औं मिनेटमा फेडेरिको र ८२औं मिनेटमा मोरटाले गोल गर्दै युभेन्ट्सलाई ४-१ को अग्रता दिलाए । ९०औं मिनेटपछि थपिएको समयमा गोल गर्दै पिटरस्बर्गलाई सरदारले ४-२ को अवस्थामा पुर्याएपनि हार टार्न भने सकेनन् ।
उक्त जितसँगै युभेन्ट्सले समूह एचमा ३ अंकको अग्रता बनाउँदै अन्तिम १६ मा स्थान बनाएको छ । ४ खेलमा अपराजित रहँदै १२ अंक बनाउको युभेन्ट्स शीर्ष स्थानमा छ । पिटरस्बर्गको भने ४ खेलबाट १ जित सहित ३ अंक रहेको छ ।
समूह ‘एच‘ अर्को खेलमा इंग्लिस प्रिमियर लिग फुटबल क्लब चेल्सी कठिन जित सहित अन्तिम १६ नजिक रहेको छ । स्विडेनमा भएको खेलमा चेल्सीले घरेलु टोली माल्मो एफएफलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
पाहुना टोली चेल्सीको जितमा एक मात्रै निर्णायक गोल हाकीम जियेचले गरे । उनले खेलको ५६औं मिनेटमा गोल गरेका थिए । बाकी समय दुबै टोलीले गोलका अवसर बनाएपनि सदुपयोग गर्न सकेनन् । उक्त जितसँगै साविक विजेता चेल्सी अन्तिम १६ नजिक रहेको छ ।
समूह ‘एच’ मा ४ खेलमा ३ जित र एक हारसहित चेल्सी ९ अंक सहित तालिकाको दोस्रो स्थानमा छ । यता, पराजित माल्मो भने ४ खेलमा विना कुनै अंक पुछारमा रहेको छ ।


