एजेन्सी । सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबलको युरोपियन छनोटअन्तर्गत आज १० खेल हुँदै छन् । आज हुने खेलमा पोर्चुगल, स्पेन, जर्मनी, क्रोएसिया, स्वीडेनसहित कुल २० टोली प्रतिस्पर्धामा रहेका छन् । नेपाली समयअनुसार आज राति १०:४५ बजेबाट ४ खेल सुरु हुनेछ भने राति १:३० बजेबाट ६ खेल हुनेछ ।
पोर्चुगलले नेपाली समयअनुसार राति १:३० बजे हुने खेलमा आयरल्यान्डसँग उसैको मैदानमा खेल्ने छ । कुल ६ खेलबाट १६ अंक बनाएको पोर्चुगल समूह ‘ए’को दोस्रो स्थानमा छ । यता आयरल्यान्ड भने पाँच अंकसहित चौथो स्थानमा रहेको छ ।
आजको खेलमा पोर्चुगल घरेलु टोली आयरल्यान्डमाथि सहज जित निकाल्दै शीर्ष स्थानमा उक्लने योजनामा रहेको छ । यस अघि पहिलो लेगको खेलमा पोर्चुगलले घरेलु मैदानमा २-१ गोलको रोमाञ्चक जित निकालेको थियो ।
यस्तै, स्पेनले राति १:३० बजे ग्रिससँग उसैको मैदानमा खेल्दै छ । स्पेन ६ खेलबाट १३ अंकसहित समूह ‘बी’को दोस्रो स्थानमा छ । ग्रिस भने ९ अंकसहित तेस्रो स्थानमा छ । सोही समूहको स्विडेनले राति १०:४५ बजे जर्जियासँग खेल्ने छ । स्विडेन १५ अङ्कका साथ शीर्ष स्थानमा छ भने चार अंक भएको जर्जिया चौथो स्थानमा छ ।
यसैगरी, समूह ‘जे’को जर्मनीले लेइचटेन्स्टेनसँग घरेलु मैदानमा खेल्ने छ । यो खेल राति १:३० बजे हुनेछ । जर्मनी २१ अङ्कसहित उक्त समूहको शीर्ष स्थानमा छ भने लेइचटेन्स्टेन एक अङ्कसहित पुछारमा छ । सोही समय साविकको उपविजेतासमेत रहेको क्रोएसियाले माल्टासँग उसैको मैदानमा खेल्नेछ । यता रसियाले राति १०:४५ बजे साइप्रसको सामना गर्ने छ । उक्त खेल रसियाको घरेलु मैदानमा हुनेछ । समूह एच मा रसिया १९ अंकसहित शीर्ष स्थानमा रहेको छ ।


