आइतबार, भाद्र २८ गते २०८३
images

पहिलो लिग स्मरणीय बनाउने दाउमा सातदोबाटो

एक्सप्रेस पाना
मंसिर २, २०७८ बिहीबार
  • 518
    SHARES
  • पहिलो लिग स्मरणीय बनाउने दाउमा सातदोबाटो

    मंसिर २ काठमाडौं । पहिलो पटक ‘बी’ डिभिजन लिगबाट बढुवा भएको सातदोबाटो युथ क्लबले ३ मंसिर (शुक्रबार) बाट सुरू हुने लिगमा नवप्रवेशी क्लबको रूपमा शीर्ष डिभिजनको लिग खेल्दै छ । सामान्यतया पहिलो पटक शीर्ष डिभिजन लिग खेल्दै गरेको कुनै पनि टोलीलाई अनुभवबिना लिग खेल्न सहज हुने छैन । 

    images

    यस्तै अवस्थामा रहेको सातदोबाटोले भने सुरुवाती लिगमै उत्कृष्ट प्रदर्शन दिने योजना बनाएको छ । उसले ‘डेब्यू’ शहीद स्मारक ‘ए’ डिभिजन लिग नै स्मरणीय बनाउने दाउ रचेको छ । जसका लागि क्लबले आफ्नो व्यवस्थापन चुस्त बनाएको छ । 

    गत सिजन ललितपुरमा शीर्ष डिभिजन लिग खेल्ने पाँच टोली थिए । सातदोबाटोको बढुवासँगै अब, केन्द्रकृत लिगमा ललितपुरका छ क्लब भएका छन् । १४ क्लब रहेको ‘ए’ डिभिजन लिगमा सातदोबाटो पहिलो संस्करणमै बलियो उपस्थिति देखाउने दाउमा छ । २०५७ सालमा स्थापित सातदोबाटो यसैवर्ष पहिलो पटक ‘ए’ डिभिजन लिगमा बढुवा भएको हो । सातदोबाटो दुई खेल अघि नै बढुवा भएर ‘ए’ मा पुगेको थियो ।

    images

    कपिल राना मगरको अध्यक्षतामा रहेको सातदोबाटोले घरेलु फुटबलकै सफल प्रशिक्षक मेघराज केसीलाई भित्र्याएको छ । प्रशिक्षक मेघराजसँग नेपाल राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षकको रूपमा काम गरेको तथा ए डिभिजन लिगमा हालको त्रिभुवन आर्मी फुटबल क्लब र थ्री स्टार क्लबको ‘टच लाइन’ समाल्हेको अनुभव छ । यस्तै गोलरक्षक प्रशिक्षकमा उज्वल महर्जन छन् । 

    टोलीले कप्तानमा हिमालयन शेर्पाबाट करिब एक दशक खेलेका मानबहादुर तामाङलाई भित्र्याएकाे छ । नेपाल यू–२३ टोलीका पूर्वखेलाडीसमेत रहेका तामाङसँग सातदोबाटोले धेरै आशा गरेको छ । यता, मानजस्तै सातदोबाटोले राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा रहेको श्यान्सु भुसाल, मोफसलको सुदूरपश्चिम–११ बाट उत्कृष्ट प्रदर्शन गर्दै आएका विक्रमसिंह ठकुरी सँगै यू-१८ टोलीबाट खेलिसकेका रन्जन पुन, आकाश बुढामगर, आदिल हमिदलगायतका खेलाडी भित्र्याएको छ । 

    यस्तै सातदोबाटोले विदेशी खेलाडीमा मनाङ र मछिन्द्रलाई लिग जिताउँदा प्रभावशाली प्रदर्शन गरेका अनुभवी डिफेण्डर पिटर सेगुन, थ्री स्टार तथा संकटाबाट लिग खेलेका अट्याकर अजयी मार्टिनलाई क्लबमा भित्र्याएको छ । 

    ‘ए’ डिभिजनको हैसियत जोगाउनका लागि सातदोबाटोले खेलाडी अनुबन्धनमा आक्रामक रूपमा आफूलाई प्रस्तुत गरेको छ । सरूवा बजारमा तहल्का मच्चाएको सातदोबाटोमा शीर्ष डिभिजनको लिग खेल्ने उत्साह निकै छ । 

    घरेलु फुटबललमा सफल तथा कुशल रणनीतिकारका रूपमा परिचय बनाएका प्रशिक्षक मेघराज केसी सातदोबाटो ‘ए’ डिभिजन लिगमा नयाँ क्लब रहेको र पहिलो संस्करणमा दत्तचित्त भई खेल्ने र राम्रो पोजिसनका लागि खेल्ने बताउँछन् । 

    ‘यो टोली भर्खरै ‘बी’ बाट ‘ए’ मा आएको हो । ‘ए’ को अनुभव नभएकोले  जोशजाँगर राम्रो देखाउनेछौँ। दत्तचित्त भएर खेल्नेछौं’, गत सिजन थ्री स्टार क्लबलाई चौथो स्थानमा दिलाएका केसीले भने । 

    तर, क्लबले ‘डेब्यू’ लिग भए पनि आक्रामक रूपमा खेलाडी अनुबन्धन गरेका कारण यस पटक लिगमा रेलिगेसन जोगाउनेभन्दा पनि शीर्ष ६ लाई लक्ष्य बनाएको छ । 

    ‘पहिलो पटक भएर राम्रो पोजिसन बनाउने प्रयास गर्नेछौँ । ‘टप सिक्स’को टार्गेट राखेर अगाडि बढेका छौं’, उनले भने । 

    सातदोबाटोले लिगको उद्घाटन खेलमै फ्रेण्डस् क्लबको सामना गर्दै छ । शुक्रबार हुने उद्घाटन खेल दशरथ रंगशालामा ‘फ्लड लाइट’मा हुनेछ । पहिलो खेलमै तीन अंक प्राप्त गर्दै सातदोबाटो सुखद् सुरूवात गर्ने दाउमा हुनेछ । त्यसका लागि उसले आफ्नो तयारीसमेत पूरा गरेको छ । यस्तै दोस्रो खेलमा सातदोबाटोले ललितपुर डर्बीमा थ्री स्टार क्लबलाई चुनौती पेस गर्नेछ । 

    नेपाली फुटबलमा राम्ररी आफूलाई प्रमाणित गरिसकेका विदेशी तथा स्वदेशी खेलाडी र प्रशिक्षकको अनुबन्धनले क्लबको तयारी पहिलो सहभागिता नै स्मरणीय बनाउने सातदोबाटोको योजना रहेको छ । 

    सातदोबाटोको टिम : मानबहादुर तामाङ (कप्तान), श्यान्सु भुसाल, पिटर सेगुन, अभिषेक बराल (गोलरक्षक), आकाश पुनमगर, रञ्जन पुन, सुमन डंगोल, आदिल हमिद, करन रावत, बिक्रम सिंह ठुकरी, प्रशान्त अवस्थी, वसन्त तामाङ, निरज चौधरी, अजयी मार्टिन, महेन्द्र कार्की, वसन्त ओझा,  आदित्य शाक्य, निशान मगर, पासाङ लामा, सिपा माथेन्ज्वा, सुशील राई, प्रकाश पुन, रविन तामाङ, सुदिप गुरुङ