मंसिर ५ काठमाडौं । डिफेन्डर दिनेश राजवंशीको निर्णायक गोलमा कीर्तिमानी आठौं पटकको च्याम्पियन नेपाल आयल निगम मनाङ मर्स्याङ्दी क्लबले सहिद स्मारक "ए" डिभिजन लिगमा विजयी सुरुवात गरेको छ ।
आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको दिनको दोस्रो खेलमा ललितपुरको जावलाखेल यूथ क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै मनाङले सुखद सुरुवात गरेको हो ।
मनाङको लागि एक मात्रै गोल दिनेशले खेलको ५७ औं मिनेटमा गरे । राष्ट्रिय फुटबल टोलीका रक्षक समेत रहेका दिनेशले भारतीय खेलाडी दयानन्द सिंहको कर्नलबलमा बक्स भित्रबाट हेडिङ गोल गरे ।
पहिलो हाफमा दुवै टोलीले गोल रहित बराबर खेलेका थिए । आक्रामक देखिएको मनाङलाई जावलाखेलले दोस्रो हाफमा रोक्ने प्रयास गरे पनि सफल हुन सकेन । त्यसपछि बाँकी समय दुवै टोलीले गोलका केही अवसर बनाए पनि सदुपयोग गर्न सकेनन् ।
उक्त जितसँगै मनाङले महत्त्वपूर्ण तीन अंक बटुलेको छ । यता, जावलाखेल भने हार बाट प्रतियोगिता सुरु गरेको छ । आजनै भएको पहिलो खेलमा एपीएफ फुटबल क्लबलाई ३-२ गोलले पराजित गर्दै ब्रिगेड ब्वाइज क्लबले महत्त्वपूर्ण ३ अंक जोडेको छ ।


