एजेन्सी । रोहित शर्माको कप्तानीमा रहेको भारतले न्युजिल्यान्डविरुद्धको तीन खेलको टि-२० अन्तर्राष्ट्रिय सिरिजमा ‘क्लिन स्विप’ गरेको छ । घरेलु टोली भारतले आइतबार भएको तेस्रो तथा अन्तिम टि-२० न्युजिल्यान्डलाई ७३ रनले हराउँदै सिरिज ३-० ले आफ्नो बनाएको हो ।
कोलकत्तास्थित इडन गार्डेन्स स्टेडियममा भारतले दिएको १ सय ८५ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्ड १७ दशमलव दुई ओभरमा अलआउट हुँदै एक सय ११ रनमा समेटियो । न्युजिल्यान्डका लागि मार्टिन गुप्टिलले ५१ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीको हार टरेन । यस्तै, टिम सेइफर्टले १७ तथा लक्की फर्गुसनले १४ रन जोडे । न्युजिल्यान्डलाई सस्तैमा समेट्न अक्षर पटेलले तीन विकेट लिए भने हर्सल पटेलले दुई विकेट झारे । यस्तै, दीपक चाहर, युजभेन्द्र चहल र भेंकटेस ऐयरले समान ११ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ८४ रन बनाएको थियो । भारतको लागि कप्तान रोहित शर्माले सर्वाधिक ५६ रन बनाए । यस्तै, इशान किशनले २९ रन बनाउँदा श्रेयस ऐयरले २५ रन जोडे । दीपक चाहरले अविजित २१ रन बनाउँद भेंकटेस ऐयरले २० तथा हर्षल पटेलले १८ रन जोडे ।
न्युजिल्यान्डका लागि मिचेल स्यान्टनरले सर्वाधिक ३ विकेट लिए भने एडम मिल्ने, लकी फर्गुसन, ट्रेन्ट बोल्ट, इश सोढीले समान एक–एक विकेट लिए । सिरिजअन्तर्गत पहिलो खेलमा भारतले ५ विकेटको जित दर्ता गरेको थियो भने दोस्रो खेलमा पाहुना टोलीलाई ७ विकेटले हराएको थियो । दुई देशबीच बिहीबारदेखि दुई वटा टेस्ट सिरिज हुनेछ ।


