आइतबार, भाद्र २८ गते २०८३
images

विभागीय डर्बी बराबरीमा सकियो

एक्सप्रेस पाना
मंसिर ६, २०७८ सोमबार
  • 363
    SHARES
  • विभागीय डर्बी बराबरीमा सकियो

    मंसिर ६ काठमाडौं । कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत सोमबार भएको विभागीय डर्बीमा त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लबले १-१ गोलको बराबरी खेलेका छन् । 

    images

    तीन पटकको च्याम्पियन पुलिसलाई खेल अवधिभर दबाबमा राखेको आर्मीले दोस्रो हाफको सुरुवातमै गोल खाएको थियो । आर्मीका राइट ब्याक गौतम श्रेष्ठले ५०औं मिनेटमा विपक्षी टोलीका बुद्ध बल तामाङलाई फाउल गरेसँगै पुलिसले फ्रिकिक पाएको थियो । तामाङले ५१औं मिनेटमा दायाँतर्फबाट प्रहार गरेको फ्रिकिकमा पुलिसका डिफेन्डर सन्तोष हेमरुनले हेडरमार्फत गोल गर्दै नेपाल पुलिस क्लबलाई अग्रता दिलाएका थिए । 

    त्यसको ११ मिनेट नबित्दै आर्मीका सब्स्टिच्युट खेलाडी विवेक बस्नेतले पेनाल्टी एरियाको ठिक अगाडिबाट सुन्दर बराबरी गोल फर्काएका थिए । सुरूवातमा केहि राम्रो मौका सृजना हुन नसके पनि १०औं मिनेटमा आर्मीका फरवार्ड जर्ज प्रिन्स कार्कीले पेनाल्टी एरिया बाहिरबाट गरेको प्रहार टार्गेटमा थिएन । १४औं मिनेटमा जर्ज प्रिन्स गरेको सुन्दर क्रसमा आर्मीका कप्तान भरत खवासले ६ यार्ड बक्स नजिकबाट गरेको प्रहार बाहिरिएको थियो । जर्ज प्रिन्सले बायाँतर्फबाट दिएको डेलिभरलाई कप्तान भरतले कन्भर्ट गर्न नसक्दा आर्मीले अग्रता लिने मौका गुमाएको थियो ।

    images

    उक्त बराबरी सँगै पुलिसले उपाधि दावेदार मानिएको आर्मीसँग १ अंक खोसेको छ । खेलको म्यान अफ दि म्याच आर्मीका मिडफिल्डर सेसेहाङ आङदेम्बे भए । शुक्रबारबाट सुरू भएको लिगको जारी संस्करणमा यो तेस्रो बराबरी हो । यसअघि उद्घाटन खेलमा नवप्रवेशी सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्बलले गोलरहित बराबरी खेलेका थिए ।

    यस्तै, शनिबार भएको खेलमा हिमालयन शेर्पा क्लब र संकटा क्लबले १-१ गोलको बराबरी खेलेका थिए । शनिबारको दोस्रो खेलमा थ्री स्टार क्लबले च्यासल युथ क्लबमाथि ३-० को फराकिलो नतिजामा पराजित गरेका थियो । आइतबार भएको पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लबले एपीएफविरुद्ध ३-२ तथा दोस्रो खेलमा मनाङ मर्स्याङ्दी क्बलले जावलाखेलमाथि १-० को संघर्षपूर्ण जित निकालेको थियो ।

    पहिलो चरणको अन्तिम खेलमा सोमबार साविक विजेता मच्छिन्द्र क्बलले न्युरोड टिम (एनआरटी)सँग खेल्ने छ । दशरथ रंगशालामै ४:४५ बजे सुरू हुने खेलाबाट मच्छिन्द्र  उपाधि रक्षा अभियान सुरू गर्नेछ ।