एजेन्सी । युरोपको सबैभन्दा ठूलो क्लब फुटबल प्रतियोगिता (यूइएफए) च्याम्पियन्स लिगमा अन्तर्गत समूह चरणको पाँचौँ खेलमा इंग्लिस प्रिमियर लिग फुटबल क्लब म्यान्चेस्टर युनाइटेड विजयी भएको छ । 
मंगलबार राति भएको खेलमा पाहुना टोली युनाइटेडले घरेलु टोली भिल्लारियलमाथि २-० गोलको सहज जित निकालेको हो ।
पाहुना टोली युनाइटेडको जितमा सुपरस्टार क्रिस्टियानो रोनाल्डो र युवा फरवार्ड जाडोन सान्चो १/१ गोल गरे । निकै प्रतिस्पर्धात्मक बनेको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७९औं मिनेटमा रोनाल्डोले गोल गर्दै १-० गोलको अग्रता दिलाएका थिए । रोनाल्डोको जारी सिजन यो च्याम्पियन्स लिगमा लगातार छैटौं गोल हो । उनले यस सिजन च्याम्पियन्स लिगका प्रत्येक खेलमा गोल गरेका छन् ।
त्यस्तै खेलको ९०औं मिनेटमा जाडोन सान्चोले गोल गरि युनाइटेड २-० गोलको सहज जित पक्का गरे । जारी सिजन घरेलु लिगमा खराब प्रदर्शन गरेको युनाइटेडले केही दिन अघि मात्रै मुख्य प्रशिक्षक ओले गुनर सोल्सारलाई पदबाट बर्खास्त गरेको थियो । उसले हाल आफ्नो पुर्व खेलाडी माइकल क्यारिकलाई कार्यवाहक प्रशिक्षको जिम्मेवारी दिएको छ ।
उक्त जितसँगै युनाइटेड अन्तिम १६ मा प्रवेश गरेको छ । उसले समूह एफमा कुल ५ खेलबाट १० अंक बनाउँदै अंक तालिकाको शीर्ष स्थानमा रहेको छ । यता पराजित भिल्लारियलको भने समान खेलबाट ७ अंकसहित दोस्रो स्थानमा रहेको छ । त्यस्तै ६ अंकसहित एटलान्टा तेस्रो तथा ४ अंकसहित योङग ब्वाइज पूछारमा रहेको छ ।
अन्य खेलको नतिजा : बायर्न म्युनिख भर्सेस डायनामो किभसँग (२-१) , चेल्सी भर्सेस युभेन्टस (४-०) , बार्सिलोना भर्सेस बेन्फिका (०-०) , सेभिल्ला भर्सेस वुल्फ्सबर्ग (२-०) , मालमो भर्सेस जेन्ट (१-१) , लिले भर्सेस आरबी साल्जबर्ग (१-०) , योङग ब्वाइज भर्सेस एटलान्टा (३-३)


