एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले सेभिल्लालाई हराएको छ । आइतबार राति रियलको घरेलु मैदानमा भएको खेलमा घरेलु टोली रियलले सेभिल्लामाथि २-१ गोलको जित निकालेको हो ।
खेलमा सेभिल्लाले बनाएको सुरुवाती अग्रता उल्टाउँदै रियलले जित निकाल्यो । रियललाई जिताउन करिम बेन्जेमा र भिनिसियस जुनियरले १/१ गोल गरे । सेभिल्लाका राफा मिरले गरेको सुरुआती गोल सान्त्वना बन्यो ।
खेलको १२औँ मिरले गोल गर्दै सेभिल्लालाई सुरुआती अग्रता दिलाएका थिए । ३२औँ मिनेटमा बेन्जेमाले गोल गरेपछि रियल खेलमा फर्कियो । खेलको निर्धारित समय सकिन तीन मिनेट बाँकी छँदा भिनिसियसले गोल गर्दै रियललाई जिताए ।
उक्त जितसँगै शीर्ष स्थानको रियलले १४ खेलमा ३३ अंक जोडेको छ । यता पराजित सेभिल्ला भने २८ अंकका साथ चौथो स्थानमा छ ।


