आइतबार, भाद्र २८ गते २०८३
images

‘ए’ डिभिजन लिग : तेस्रो चरणका खेल शुक्रबारदेखि सुरु 

एक्सप्रेस पाना
मंसिर १६, २०७८ बिहीबार
  • 707
    SHARES
  • ‘ए’ डिभिजन लिग : तेस्रो चरणका खेल शुक्रबारदेखि सुरु 

    मंसिर १६ काठमाडौं । कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगको तेस्रो चरणका खेल शुक्रबारदेखि सुरु हुनेछन्। अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा जारी लिगका तेस्रो चरणका सबै खेलहरु त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछन् ।

    images

    चार दिनसम्म चल्ने तेस्रो चरणमा तीन दिन दुई खेल हुनेछ भने एक दिन एक मात्रै खेल हुने तालिका छ। दिनमा दुई खेल हुँदा पहिलो खेल दिउँसो १ बजे सुरु हुनेछ भने दोस्रो खेल तथा दिनको एक मात्रै खेल साँझ ४:४५ बजे हुनेछ।

    शुक्रबारको पहिलो खेलमा फ्रेण्ड्स क्लबले थ्रीस्टार क्लबको सामना गर्नेछ। यस्तै, दोस्रो खेलमा नवप्रवेशी सातदोबाटो युथ क्लब एपीएफ फुटबल क्लबसँग भिड्नेछ। लगातार दुई खेलमा पराजित भएको एपीएफ अंकतालिकाको पुछारमा रहेको छ ।

    images

    शनिबारको पहिलो खेलमा शीर्षस्थानको मनाङ मर्स्याङदी  क्लबले दोस्रो स्थानको संकटा क्लबसँग प्रतिस्पर्धा गर्नेछ । सोही दिनको दोस्रो खेलमा च्यासल युथ क्लबले उपाधि दाबेदार न्यूरोड टिम (एनआरटी)सँग प्रतिस्पर्धा गर्नेछ। तेस्रो चरणअन्तर्गत आइतबार एक मात्रै खेल हुनेछ। उक्त खेलमा ब्रिगेड ब्वाइज क्लबले त्रिभुवन आर्मी फुटबल क्लबसँग खेल्ने छ। 

    एन्फाले २० मंसिरमा तय दुई खेललाई भने २२ मंसिरमा पुर्‍याएको छ । रंगशालामा युथ एथ्लेटिक्स प्रतियोगिता हुने भएसँगै यसअघि सोमबारका लागि तय भएको हिमालयन शेर्पा क्लब र नेपाल पुलिस क्लबबीचको पहिलो तथा जावलाखेल युथ क्लब र मछिन्द्र मर्स्याङदीबीचको दोस्रो खेल बुधबार सारिएको छ। 

    तेस्रो चरणका अन्य खेल भने पूर्वनिर्धारित मिति अनुसार नै हुनेछ। दुई चरणको खेल सकिँदा आठ पटकको लिग विजेता मनाङ मर्स्याङदी ६ अंकसहित शीर्षस्थानमा छ। जारी प्रतियोगितामा सुरुवाती दुवै खेल जित्ने मनाङ एक्लो टोली हो। 

    समान खेलबाट ४ अंक जोडेको संकटा क्लब दोस्रो, ब्रिगेड ब्वाइज क्लब तेस्रो, मछिन्द्र चौंथो, पुलिस पाँचौं र सातदोबाटो छैटौं स्थानमा छ।  थ्री स्टार सातौं, च्यासल आठौं, आर्मी नवौँ, १ अंक जोडेका शेर्पा दशौं, फ्रेन्ड्स ११औं, एनआरटी १२औं स्थानमा छन्। जावलाखेल र एपीएफ भने जितविहीन छन्। १४ क्लब सहभागी लिगको पुछारमा रहने दुई क्लब ‘बी’ डिभिजन लिगमा घटुवा हुनेछन्।