एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले आर्सनलमाथि रोमाञ्चक जित निकालेको छ । बिहीबार राति युनाइटेडको घरेलु मैदानमा भएको खेलमा आर्सनललाई ३-२ गोलले हराएको हो ।
घरेलु टोली युनाइटेडको जितामा क्रिस्टियानो रोनाल्डोले २ गोल गरे भने ब्रुनो फर्नान्डेसले १ गोल गरे । आर्सनलका इमाइल स्मिथ रोव र मार्टिन ओडेगार्डले १/१ गोल गरेका थिए ।
खेलमा आर्सनलले सुरुवाती अग्रता बनाएको थियो । खेलको १३औं मिनेटमा रोवले गोल गर्दै आर्सनललाई अग्रता दिलाए । ४४औं मिनेटमा फर्नान्डेसले गोल गर्दै युनाइटेडलाई पहिलो हाफमा १-१ गोलको बराबरीमा फर्काए ।
खेलको ५२औं मिनेटमा रोनाल्डोले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए । त्यसको २ मिनेट नबित्दै ओडेगार्डले गोल गरेपछि आर्सनल खेलमा फर्कियो । तर ७६औं मिनेटमा रोनाल्डोले पेनाल्टीमा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए । यी २ गोलसँगै रोनाल्डोले आफ्नो करिअरको ८०० सयाैँ गोल पूरा गरे । उनले हालसम्म ८०१ गोल गरेका छन् ।
उक्त जितसँगै युनाइटेड सातौँ स्थानमा उक्लिएको छ । उसले १४ खेलमा २१ अंक जोडेको छ । यता पराजित आर्सनल भने २३ अंकका साथ पाँचौँ स्थानमा छ ।


