आइतबार, भाद्र २८ गते २०८३
images

मिक्छेनको गोलमा थ्री स्टार फ्रेन्ड्ससँग हारबाट जोगियो 

एक्सप्रेस पाना
मंसिर १७, २०७८ शुक्रबार
  • 634
    SHARES
  • मिक्छेनको गोलमा थ्री स्टार फ्रेन्ड्ससँग हारबाट जोगियो 

    मंसिर १७ काठमाडौं । राजधानीमा जारी कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा फ्रेन्ड्स क्लब र रुसलान थ्री स्टार क्लबसँग अंक बाँड्न बाध्य भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा ललितपुरे प्रतिद्वन्द्वीले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । 

    images

    पहिलो हाफमा कुनै गोल नहुँदा दोस्रो हाफमा दुवै गोल भएका थिए । खेलमा अग्रता भने फ्रेन्ड्सले बनायो । खेलको ५१औं मिनेटमा फ्रेन्ड्सका नथानीयल जुड गार्सियाले गोल गरि अग्रता लिए ।

    त्यस्तै १-० गोलले पछि परेको थ्री स्टारको लागि मिक्छेन तामाङले बराबरी गोल फर्काए । उनले खेलको ८२औं मिनेटमा रितिककुमार खड्काले गरेको क्रसलाई पेनाल्टी क्षेत्रबाट अनमार्क रहेका मिक्छेनले सहज गोल गरे । त्यसपछि बाँकी समय थप गोल नहुँदा खेल १-१ गोलको बराबरीमा सकियो । 

    images

    उक्त बराबरीसँगै प्रतियोगितामा फ्रेन्ड्सको यो दोस्रो बराबरी हो । यसअघि फ्रेन्ड्स सातदोबाटोसँग गोलरहित बराबरी खेलेको थियो भने दोस्रो खेलमा संकटासँग २-१ अन्तरले पराजित भएको थियो । फ्रेन्ड्सको तीन खेलबाट २ अंक भएको छ । 

    यता थ्री स्टारको यो पहिलो बराबरी हो । पहिलो खेलमा च्यासल युथलाई ३-० ले पराजित गरेको थ्री स्टार दोस्रो खेलमा सातदोबाटोसँग १-० ले स्तब्ध भएको थियो । थ्री स्टारको तीन खेलबाट ४ अंक भएको छ । खेलको म्यान अफ दि म्याच फ्रेन्ड्सका गोलकर्ता गार्सिया भए । आजै पौने ५ बजे सुरु हुने दोस्रो खेलमा नवप्रवेशी क्लब सातदोबाटो युथ क्लब र विभागीय एपीएफ फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।