एजेन्सी । युरोपको सबैभन्दा ठूलो क्लब फुटबल प्रतियोगिता यूइएफए च्याम्पियन्स लिगमा आज राति समूह चरणका अन्तिम खेलहरु हुँदै छन् । जसमा आठ खेल हुँदा १६ टोलीले प्रतिस्पर्धा गर्ने छन् । आज राति हुने समूह ए का २ खेल राति ११:३० बजे हुनेछ भने बाँकी ६ खेल राति १:४५ बजेबाट सुरु हुनेछ । राति हुने पहिलो खेलमा पिएसजीले क्लब ब्रुगसँग प्रतिस्पर्धा गर्दा आरबी लाइप्जिगले म्यानचेस्टर सिटीसँग खेल्दैछ ।
यो समूहबाट इंग्लिस प्रिमियर लिग फुटबल क्लब म्यानचेस्टर सिटी समूह विजेता तथा फ्रेन्च फुटबल क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) उपविजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरिसकेका छन् । दुवै टोली समूह चरणमा जित निकाल्दै सुखद् अन्त्य गर्न चाहन्छन् । क्लब ब्रुग र लाइप्जिग पनि जितसहित लिग चरण अन्त्य गर्ने लक्ष्यमा हुनेछन् । सिटी र लाइप्जिगबीचको खेल लाइप्जिगको घरेलु मैदान रेड बुल एरिना तथा पिएसजी र ब्रुगको खेल पिएसजीको घरेलु मैदान ले पार्क डेस प्रिन्सेसमा हुनेछ ।
त्यस्तै समुह बी मा एफसी पोर्टो र एट्लेटिको मड्रिड तथा एसी मिलान र लिभरपुल प्रतिस्पर्धा हुनेछ । यो समूहबाट लिभरपुल शतप्रतिशत जितसहित १५ अंक जोडेर अन्तिम १६ मा प्रवेश गरिसकेको छ । पोर्टो, मिलान र एट्लेटिको मड्रिडको नकआउट चरण पुग्ने सम्भावना रहेको छ । यो दुई खेलमा बराबरीको नतिजा निस्किएको खण्डमा पोर्टो समूह उपविजेता बन्दै अघि बढ्नेछ । यी दुबै खेल नेपाली समय अनुसार राती १:४५ बजे सुरु हुनेछन् ।
त्यस्तै समूह सी मा आयाक्सले स्पोर्टिङ सिपीसँग तथा बोरुसिया डर्टमुन्डले बेसिक्टाससँग खेल्दैछ । आयाक्स र स्पोर्टिङ सिपीले नकआउट चरणमा स्थान पक्का गरिसक्दा डर्टमुनन्ड र बेसिक्टास भने बाहिरिसकेको छ । यी दुबै खेल नेपाली समय अनुसार राती १:४५ बजे सुरु हुनेछन् ।
समूह डी मा रियल मड्रिडले इन्टर मिलानसँग तथा साख्तर डोनेस्कले एफसी सेरिफसँग खेल्दैछ । यो समूहबाट रियल र इन्टरले नकआउट चरणको यात्रा तय गरिसक्दा सेरिफ र साख्तर बाहिरिसकेका छन् । रियल र इन्टरबीचको खेलले समूह विजेताको छिनोफानो गर्नेछ । यी दुबै खेल नेपाली समय अनुसार राती १:४५ बजे सुरु हुनेछन् ।


