मंसिर २१ काठमाडौं । आठौं पटकको सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन नेपाल आयल निगम फुटबल क्लब मनाङ मर्स्याङ्दी (एमएमसी)का प्रशिक्षक फुजा तोपे नेपाल आइपुगेका छन् ।
मंगलबार नाईजेरियन नागरिक फुजा नेपाल झरेका हुन् । मनाङले यस सिजनका लागिसमेत प्रशिक्षक फुजासँग सम्झौता नविकरण गरेको थियो । तर, लिग नभएपछि उनि गृहनगर रहँदै आएका थिए । लिग हुने तयारी भएसँगै फुजालाई मनाङले नेपाल झिकाउने प्रयास गरे पनि सफल हुन सकेको थिएन ।
फुजालाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा मनाङका व्यवस्थापक रामबहादुर गुरुङ र टिम कोर्डिनेटर मिलन गुरुङ (ज्याक)ले स्वागत गरे । जारी कतार एयरवेज लिगमा मनाङले तीन खेल खेल्दा टोलीको प्रशिक्षकमा राजेन्द्र तामाङ छन् । फुजाको आगमनपछि पनि मनाङको मुख्य प्रशिक्षकमा भने तामाङ नै रहनेछन् ।
फुजाले पछिल्लो दुई सिजन समेत मनाङकै प्रशिक्षक रहेर काम गरेका थिए । २०७५ सालको लिगमा मनाङले कीर्तिमानी आठौंपटक लिग जित्दा फुजा टोलीको मूख्य प्रशिक्षक थिए ।
यद्यपि, उनी ‘ए’ लाइसेन्स नभएका कारण पेपरमा ‘हेड कोच’ नभए पनि टोलीको मूख्य रणनीतिकारका रूपमा परिचित छन् । यस्तै मनाङले २०७७ सालको लिगमा समेत फुजालाई नै निरन्तरता दिएको थियो ।
यसअघि नेपालमा भएको पहिलो फ्रेन्चाईज नेपाल सुपर लिग (एनएसएल)मा उपविजेता धनगढी एफसीको प्रशिक्षक तथा रणनीतिकारको रूपमा फुजा नै थिए । मूख्य प्रशिक्षकमा भने युगल किशोर राई रहे । फुजाको आगमनसँगै मनाङले लिगमा आफ्नो दाबेदारीता अझै मजबुद हुने आशा गरेको छ । जारी लिगमा दुई जित र एक बराबरसहित मनाङ ७ अंक जोडेर दोस्रो स्थानमा छ ।


