एजेन्सी । युरोपको सबैभन्दा ठूलो क्लब फुटबल प्रतियोगितामा यूईएफए च्याम्पियन्स लिगमा स्पेनिस ला लिगा फुटबल क्लब रियल मड्रिड समूह विजेता र इटालियन सिरी ए फुटबल क्लब इन्टर मिलन उपविजेता बन्दै अन्तिम १६ मा स्थान बनाएका छन् ।
समूह ‘डी’ अन्तर्गत गए राति भएको खेलमा १० खेलाडीमा सीमित इन्टर मिलानलाई २-० गोल अन्तरले पराजित गर्दै रियल शीर्ष स्थानमा रहेर प्रिक्वाटरफाइनलमा प्रवेश गरेको हो ।
घरेलु टोली रियलको जितमा टोनी क्रुस र मार्काे एसेन्सियोले गोल गरे । खेलको ६४औं मिनेटमा निकोलो बरेलाले रातो कार्ड पाउँदा पाहुना टोली इन्टर १० खेलाडीमा समेटिएको थियो ।
यसै समूहको अर्काे खेलमा युक्रेनी क्लब साख्तर डोनेस्क र मोल्दोभाको एफसी सेरिफले १-१ गोलको बराबरी खेल्दै अंक बाँडे ।उक्त जितसँगै रियलले ६ खेलबाट १५ अंक जोड्दै शीर्ष स्थानमा रह्यो । पराजित इन्टर १० अंक जोडेर दोस्रो स्थानमा रहँदै अन्तिम १६ मा स्थान बनायो । ७ अंक बनाएको सेरिफ र २ अंक बनाएको साख्तर डोनेस्क दुबै समूह चरणबाटै बाहिरिए ।


