एजेन्सी । यूरोपको सबैभन्दा ठुलो क्लब फुटबल प्रतियोगिता यूईएफए च्याम्पियन्स लिग आन्तर्गत समूह चरणको अन्तिम खेलमा स्टार खेलाडी लियोनल मेस्सी र किलीयन एमबाप्पेले २/२ गोल गरेको खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले सहज जित निकालेको छ ।
घरेलु मैदान ले पार्क डेस प्रिन्सेसमा भएको समूह ‘ए’ को खेलमा पीएसजीले क्लब ब्रुगलाई ४-१ अन्तरले पराजित गर्दै उपविजेताको रुपमा प्रिक्वाटरफाइनलमा प्रवेश गरेको हो । खेलको दोस्रो मिनेटमा पीएसजीले एमबाप्पेको गोलमा अग्रता लियो । ७ मिनेटमा एन्जल डी मारियाको पास एमबाप्पेले भलीमार्फत दोहोरो अग्रता बनाए ।
खेलको ३७औँ मिनेटमा लियोनल मेस्सीले गोल गर्दै पिएसजीलाई ३-० को अग्रता दिलाए । ६७औँ मिनेटमा माट्स रिट्सले गोल गर्दै ब्रुगलाई ३-१ को अवस्थामा झारे ।
तर ७६औँ मिनेटमा आफैंलाई फल गरेपछि पाएको पेनाल्टीलाई सदुपयोग गर्दे मेस्सीले टोलीलाई ४-१ को जित दिलाए । यसै समूहको अर्को खेलमा म्यानचेष्टर सिटी आरबी लाईपजिगसँग २-१ ले पराजित भयो ।
उक्त जितसँगै पिएसजी ६ खेलमा ३ जित २ बराबरी र १ हार सहित ११ अंक जोड्दै दोस्रो स्थानमा रहेर अन्तिम १६ मा स्थान बनायो । सिटी १२ अंकसहित शीर्ष स्थानमा रहँदा ७ अंक बनाएको आरबी लाईपजिग र ४ अंक बनाएको क्लब ब्रुग समूह चरणबाटै बाहिर रहे ।


