मंसिर २४ काठमाडौं । राजधानीमा जारी कतार एयरवेज सहिद स्मारक लिग ‘ए’ डिभिजन फुटबलमा अहिले त्रिभुवन आर्मी क्लबले लगातार दोस्रो जित दर्ता गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको चौथो चरणको खेलमा त्रिभुवन आर्मीले च्यानल युथ क्लबलाई २-० गोलले पराजित गरेको हो । आर्मीको जितमा जर्ज प्रिन्स कार्की र जगजित श्रेष्ठले १/१ गोल गरे ।
खेलको १८ औं मिनेटमा जर्ज प्रिन्स कार्कीले गोल गर्दै आर्मीलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यस्तै खेलको ३६ औं मिनेटमा जगजित श्रेष्ठले गोल गर्दै आर्मीलाई पहिलो हाफमै २-० गोलको आरामदायी अग्रता दिलाएका थिए । त्यसपछि दोस्रो हाफमा थप गोल नहुँदा आर्मीले खेलमा २-० गोलको जित निकालेको हो ।
उक्त जितसँगै आर्मीले ३ खेलबाट ८ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । त्यस्तै यता पराजित टोली च्यासलको भने ४ खेलबाट ४ अंक जोडेर नौं स्थानमा झरेको छ ।


