मंसिर २६ काठमाडौं । सुपरस्टार फरवार्ड क्रिष्टियोनो रोनाल्डोको पेनाल्टी गोल मद्दतमा म्यानचेष्टर युनाइटेडले इंग्लिस प्रिमियर लिग फुटबलमा जित निकालेको छ ।
शनिबार राति भएको खेलमा पाहुना टोली युनाइटेडले रेलिगेशन जोनमा रहेको नर्विचलाई १-० अन्तरले पराजित गरेको हो । युनाइटेडको जितमा रोनाल्डोले ७५औं मिनेटमा पेनाल्टीमा गोल गरे । त्यसपछि बाँकी समय दुबै टोलीले गोलका अन्य अवसर बनाए पनि सदूपयोग गर्न सकेनन् ।
शनिबार राति नै घरेलु मैदान लण्डनमा भएको खेलमा आर्सनलले साउथह्याप्टनलाई ३-० अन्तरले पराजित गर्याे । आर्सनलको सहज जितमा एलेक्जेण्डर लाकाजेट, मार्टिन ओडोगार्ड र ग्राबियल मागलहाएसले १/ १ गोल गरे ।
उक्त जितसँगै युनाईटेड १६ खेलबाट २७ अंक बनाएर पाँचौ स्थानमा छ । पराजित नर्विच भने १० अंक जोड्दै पुछारमा छ । अर्काे खेलमा सहज जित निकालेको आर्सनल २६ अंकसहित तालिकाको छैटौँ स्थानमा छ ।


