एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले सहज जित निकालेको छ । गए राति भएको खेलमा शीर्ष चारको दौडमा रहेको आर्सनलले अर्को दाबेदार वेस्ट ह्याम युनाइटेडलाई २-० ले पराजित गर्दै तत्काललाई शिर्ष चारमा स्थान बनाउन सफल भएको छ।
पाहुना टोली वेस्टह्याम दोस्रो हाफमा १० खेलाडीमा समेटिएको थियो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलका ४८औं मिनेटमा गाव्रियल मार्टिनेलीले एलेक्सान्द्रे लाकाजेटको पासमा गोल गरि १० गोलको अग्रता दिलाएका थिए । त्यस्तै खेलको ६७औं मिनेटमा भ्लादिमिर कोउफल दोहोरो पहेँलो काडै खाँदै मैदानबाट बाहिरिएपछि वेस्ट ह्याम १० खेलाडीमा समेटिन पुग्यो। त्यसमै प्राप्त पेनाल्टीमा लाकाजेट चुक्दा आर्सनलले अग्रता दोब्बर पार्न सकेन।
त्यसपछि निर्धारित समयको खेल सकिन तीन मिनेट बाँकी रहँदा इमिल स्मिथ रोवीले आर्सनलका लागि निर्णायक गोल गरे। उक्त जितसँगै आर्सनलले वेस्ट ह्यामलाई १ अंक तथा एक खेल कम खेलेको म्यानचेस्ट युनाइटेडलाई २ अंकले पछि पार्दै शीर्ष चारमा स्थान बनाएको छ।


