एजेन्सी । जर्मन बुन्डेसलिगा फुटबलमा बोरुसिया डर्टमुन्डले जारी सिजनको घरेलु लिगमा ११औं जित निकालेको छ। गए राति भएको खेलमा डर्टमुन्डले ग्रेउथेर फुर्थलाई ३-० ले पराजित गर्दै शिर्ष स्थानको बार्यन म्युनिखसँगको अंक दुरी केहि घटाएको छ। घरेलु मैदानमा घरेलु टोली डर्टमुन्डको जितमा नर्वेजियन स्टार एर्लिङ हालान्डको दुई गोल र डोनेल मालेनले एक गोल गरेका थिए ।
सिग्नल इडुना पार्कमा खेलको ३३औं मिनेटमा हालान्डले पेनाल्टी मार्फत सुरुवाती गोल गर्दै डर्टमुन्डलाई पहिलो हाफमा १-० को अग्रता दिलाए । त्यसपछि डर्टमुन्डले ८२औं मिनेटमा हालान्डकै गोलमा अग्रता दोब्बर बनायो । त्यस्तै खेलको ८९औं मिनेटमा सव्सिच्युट फरवार्ड डोनेल मालेनले गोल गर्दा डर्टमुन्ड सहज जित निकाल्न सफल भयो।
उक्त जितसँगै डर्टमुन्डको १६ खेलबाट ३४ अंक भएको छ । शीर्षस्थानको बायर्नको समान खेलबाट ४० अंक छ । पराजित ग्रेउथेर फुर्थ ४ अंक जोडेर पुछारमा रहेको छ।


