काठमाडौँ । नेकपा एमालेमा चुलिएको आन्तरिक विवाद मिलाउन दोश्रो तहका नेताहरू सक्रीय भएका छन् । नेताहरू सुवास नेम्वाङ र विष्णु पौडेल अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच वार्ता गराउन प्रयासरत छन्।
विहीबार नेपाललाई भेट्न कोटेश्वर पुगेका संसदीय दलका उपनेता नेम्वाङले नेपाललाई ओलीसँग भेटेर वार्ता गर्न आग्रह गरेका थिए। त्यस्तै शुक्रबार अर्का नेता पौडेलले पनि नेपाललाई भेट्ने कार्यक्रम रहेको छ। एमालेको विवाद समाधान गर्न बनेको कार्यदलमा रहेका नेम्वाङ र पौडेल एमाले एकता जोगाउन भन्दै दुई नेताबीच वार्ता गराउने प्रयासमा छन्।
केपी ओलीले दोश्रो पटक पनि प्रतिनिधिसभा विघटन गरेपछि झनै चिढिएका नेपालसहित २२ सांसदले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा विश्वासको मत दिएका थिए ।
नेपाल समूहले देउवालाई विश्वासको मत दिएपछि ओलीले सबैलाई स्पष्टिकरण सोधेपनि पछि आममाफी भएको बताएका थिए। ओलीले प्रतिनिधिसभा विघटन गरेर प्रतिगमन गरेकाले आफूहरू आन्दोलनमा जान बाध्य भएको नेपाल पक्षको भनाइ छ। ओलीले आत्मआलोचना गर्नुपर्ने नेपाल समूहको माग छ। पछिल्लो समय ओलीले नेपाललाई दोश्रो अध्यक्ष बनाउने बताएपनि नेपालले ओलीलाई भेट्न चासो देखाएका छैनन्।


