पुस ५ काठमाडौं । जारी कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता २०७८ अन्तर्गत पाँचौं चरणको अन्तिम खेलमा फरवार्ड आशिष लामाको २ गोल मद्दतमा विभागीय टोली एपीएफ फुटबल टोलीले पहिलो जित निकालेको छ । सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालाम भएको खेलमा एपीएफले अर्को रेलिगेशन जोनको फ्रेण्ड्सविरुद्ध ३–१ अन्तरको जित निकालेको हो ।
पाँचौ खेलमा आएर पहिलो जित निकाल्ने क्रममा एपीएफको लागि आशिष लामाले दुई तथा विकी तामाङले एक गोल गरे । फ्रेण्ड्सका प्रिजेन तामाङले सान्त्वना गोल फर्काए ।
खेलको ३०औं मिनेटमा एपीएफले अग्रता बनायो । बक्स अगाडिबाट बिकीले गोल गरे । त्यसको दुई मिनेटमै आशिषले अग्रता दोब्बर बनाए । उनले बक्स भित्रबाट सहजै बललाई जाली चुमाए ।
खेलको ५६औं मिनेटमा आशिषले एपीएफलाई ३-० को अवस्थामा पुर्याए । काउण्टरमा बल पाएका आशिषले पेनाल्टी एरियाबाट व्यक्तिगत दोस्रो तथा टोलीको लागि तेस्रो गोल गरे । खेलको ६८औं मिनेटमा प्रिजेन तामाङले पाएको पेनाल्टी सदुपयोग गर्दै एपीएफको अग्रता ३-१ को अवस्थामा झारे ।
उक्त जितपछि ४ अंक बनाएको एपीएफ गोल अन्तरका आधारमा ११ औं स्थानमा छ । पराजित फ्रेण्ड्स २ अंकसहित पुछारमा छ । योसँगै पाँचौ चरणको खेल सकिएको छ । २ अंकको अग्रता बनाउँदै मनाङ मर्स्याङ्दी क्लब १३ अंकका साथ पहिलो स्थानमा छ ।


