पुस ६ काठमाडौं । जारी कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता २०७८ अन्तर्गत पाँचौं चरण्को खेलमा घरेलु मैदानमा पुलिसविरुद्ध पाएको सहज जितसँगै सर्वाधिक ८ पटकको विजेता नेपाल आयल निगम मनाङ मर्स्याङ्दी क्लबले पाँचौ चरणको खेल सकिँदा २ अंकको अग्रता बनाएको छ । मनाङले गत शनिबार पोखरा रंगशालामा भएको खेलम पुलिसमाथि ३-१ गोलको सहज जित निकालेको थियो ।
उक्त खेलमा मनाङका कप्तान अन्जन बिष्ट ह्याट्रिक मौकाबाट समेत चुके । पोखरामा भएको खेलमा दोस्रो हाफमा अन्जनले २ गोल गरिसकेका अवस्थामा बक्स भित्र बाट प्रहार गर्न चुक्दा लिगको दोस्रो ह्याट्रिक बनाउन चुके ।
सोमबार दशरथ रंगशालामा भएको खेलमा विभागीय टोली एपीएफ फुटबल क्लबले फ्रेण्ड्सविरुद्धको खेलसँगै पाँचौ चरणको खेल समाप्त भएको हो । शीर्षस्थानमा मनाङले २ अंकको अग्रता बनाउँदा फ्रेण्ड्स क्लब र च्यासल युथ क्लब रेलिगेशन जोनमा रहे ।
सोमबार दिनको एक मात्रै खेलमा फरवार्ड आशिष लामाको २ तथा विक्की तामाङको १ गोल मद्धतमा एपीएफले फ्रेण्डस्लाई पराजित गर्दै रेलिगेशन जोनबाटमाथि उम्कियो । पाँचौ चरणका कुल ७ खेल हुँदा १५ गोल भए । ४ खेलमा हार जित हुँदा ३ खेल बराबरीमा टुंगिए ।
जसमा सातदोबाटो युथ क्लब र त्रिभुवन आर्मी फुटबल क्लब तथा संकटा र मछिन्द्र फुटबल क्लबले बराबरी खेल्दा थ्रीस्टार र न्युरोड टिम एनआरटीले गोल सहित बराबरी खेले ।
यता,पाँचौ चरणमा एपीएफसँगै जावलाखेल र हिमालयन शेर्पाले पहिलो जित निकाल्यो । जावलाखेलले च्यासललाई पराजित गर्यो । रेलिगेशनको दबाबमा परेको हिमालयन शेर्पा क्लबलले ब्रिगेड ब्वाइज क्लब (बीबीसी)लाई ३–१ अन्तरले पराजित गर्दै रेलिगेसन जोनबाट कम्तिमा यस चरणबाट टाढा रह्यो ।
पाँचौ चरणको खेल सकिँदा चार क्लब अपराजित रहेका छन् । मनाङ, मछिन्द्र, आर्मी र संकटाले बराबरी गरे पनि हारबाट भने बचेका छन् । ५ खेलबाट १३ अंक सहित अपराजित रहेको मनाङ शीर्षस्थानमा छ । ११ अंक बनाएको मछिन्द्र दोस्रो स्थानमा छ । समान ९ अंक भए पनि गोल अन्तरका आधारमा आर्मी तेस्रो स्थानमा छ भने संकटा चौथों स्थानमा छ । ८ अंक बनाएको सातदोबाटो पाँचौ स्थानमा छ भने समान ६ अंक बनाएका थ्रीस्टार र न्युरोड टिम एनआरटी छैटौं र सातौं स्थानमा छन् ।
समान ५ अंक बनाएका हिमालयन शेर्पा क्लब, ब्रिगेड ब्वाइज र नेपाल पुलिस क्लब आठौ, नवौं र दशौं स्थानमा रहँदा समान ४ अंक बनाएका एपीएफ, जावलाखेल र च्यासल ११ औं, १२ औं र १३ औं स्थानमा छन् । यस्तै २ अंकको फ्रेण्ड्स १४ औं तथा पुछारमा छ ।
अब, छैटौं चरणको खेल आगामी शुक्रबारबाट सुरु हुनेछ ।


