पुस १३ काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी नेपाल फर्किएका छन् ।
प्रशिक्षक अल्मुताइरी मंगलबार नेपाल फर्किएका हुन् । प्रशिक्षक अल्मुताइरीलाई नेपाली टिमका व्यवस्थापक मधुसुदन उपाध्याय लगायतले स्वागत गरेका थिए ।अल्मुताइरीको नेतृत्वमा नेपाल साफ च्याम्पियनसिपमा उपविजेता बनेको थियो । असोजमा माल्दिभ्समा भएको साफ च्याम्पियनसिपपछि उनी टोलीसँग नफर्की कतार गएका थिए । कतारमै रहँदा सन् २०२२ जनवरी १ देखि २०२४ सम्म नेपाली राष्ट्रिय टोलीको प्रशिक्षण सम्हाल्ने गरि उनले सम्झौता गरेका थिए । कतार फुटबल संघको सहयोगमा उनी नेपाल आएका हुन् ।
अल्मुताइरीको प्रशिक्षणमा नेपालले अहिले सम्म ११ खेल खेल्दा ३ जित, २ बराबरी र ६ हारको नतिजा निकालेको छ । अलमुताइरीको प्रशिक्षणमा नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनल पुगेको थियो ।


