पुस १६ काठमाडौं । जारी कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग फुटबलको सातौँ चरणका खेल आजबाट सुरू हुँदैछन् । जसमा सातौँ चरणका खेलहरू आज शुक्रबार सुरू भई सोमबार समाप्त हुनेछन् ।
यो चरणमा दुई स्थानमा खेलहरू हुनेछन् । ६ खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा र एक खेल पोखरा रंगशालामा हुनेछ । शुक्रबार काठमाडौंमा दुई खेल हुनेछन् । मध्यान्न १ बजे हुने पहिलो खेलमा विभागीय टोलीहरू एपीएफ फुटबल क्लब र त्रिभुवन आर्मी फुटबल क्लब भिड्दैछन् । पौने ५ बजेको खेलमा भने फ्रेण्ड्स र न्युरोड टिम एनआरटी आमनेसामने हुनेछन् ।
जारी लिगको छैटौं चरणको खेल समाप्त हुँदा १४ अंकसहित मछिन्द्र शीर्षस्थानमा छ । १३ अंक बनाएको मनाङ दोस्रो स्थानमा रहँदा १२ अंकको संकटा तेस्रो स्थानमा छ भने १० अंकको आर्मीे तेस्रो स्थानमा छ ।
समान ८ अंक बनाएको सातदोबाटो र हिमालयन शेर्पा क्रमशः पाँचौ र छैटौँ स्थानमा रहँदा समान सात अंकका थ्रीस्टार, एनआरटी र जावलाखेल क्रमशः साँतौबाट नवौँसम्ममा छन् । यता, ६ अंकको पुलिस दशौँ स्थानमा रहँदा समान ५ अंकका एपीएफ र बीबीसी क्रमशः ११औँ र १२ औँ स्थानमा छन् । चार अंकको च्यासल र तीन अंकको फ्रेण्ड्स रेलिगेसन जोनमा छन् । सातौँ चरणमा शीर्षस्थानमा रहने टोली एएफसी कप- २०२२ को छनोटको लागि स्थान बनाउनेछ ।


