पुस १७ पोखरा । कतार एयरवेज सहिज स्मारक ए डिभिजन लिग अन्तर्गत जित्नैपर्ने खेलमा मनाङ मस्र्याङ्दी क्लवले ब्रिगेड ब्याइजलाई १-० गोलको झिनो अन्तरले पराजित गरेको छ ।
पोखरा रंगशालामा भएको खेलमा मनाङको जितमा कप्तान अञ्जन विष्टले निर्णायक गोल गरे । उक्त जितसँगै यो सिजनको लिगमा दोस्रो खेल घरेलु मैदानमा खेलेको मनाङविरुद्ध ब्रिगेड ब्याइजले पेनाल्टी गुमाउँदा अग्रता बनाउने उत्कृष्ट असर खेर फाल्यो ।
खेलको १६ औं मिनेटमा मनाङका आदित्य चौधरीले शिशिर लेखीलाई लडाएपछि ब्रिगेड ब्याइजले पेनाल्टी पाएको थियो । जसमा लेखीले नै गरेको प्रहार आकाशिन पुग्यो । जसका कारण ब्रिगेड ब्याइजले उत्कृष्ट मौका खेर फाल्यो ।
त्यसपछि मनाङले दबाव दिएपनि गोल गर्न भने पहिलो हाफको अन्तिमसम्म कुर्नुपर्यो । उसका लागि अञ्जन विष्टले हेडमार्फत गोल गर्न सफल भए । दोस्रो हाफमा मनाङले आक्रामक खेल खेलेपनि गोल थप्न भने सकेन । जसका कारण अञ्जन विष्टले पहिलो हाफको अन्तिममा गरेको गोल नै निर्णायक बन्यो ।
उक्त जित सँगै मनाङ मस्र्याङदीले ७ खेलमा १६ अंक बनाउँदै लिगको शिर्ष स्थानमा फर्किएको छ । अब उसलाई एएफसी कप क्वालिफायर्समा स्थान बनाउनका लागि मच्छिन्द्रले नेपाल पुलिस क्लवसँग बराबरीमा चित्त बुझाउनुपर्ने छ ।
मच्छिन्द्र पुलिससँग बरारबीमा रोकिएमा वा हारेको खण्डमा मनाङले एएफसी कप छनोट खेल्नेछ । यदि मच्छिन्द्रले पुलिसलाई हराएको खण्डमा उसले एएफसी कप छनोट खेल्नेछ । उसका तालिकामा ६ खेलमा १३ अंक छ ।यता मनाङसँगको हारपछि ब्रिगेड ब्याइजको सात खेलमा ५ अंकका साथ १२ औं स्थानमा यथावत छ ।


