एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडको ११ खेलसम्मको अपराजित यात्रा टुंगिदा क्याटलान क्लब बार्सिलोनाले भने जित हात पारेको छ ।
आइतबार राति भएको खेलमा गेटाफेसँग १-० को अप्रत्याशित हारसङ्गै मड्रिडको अपराजित यात्रामा पूर्णबिराम लागेको हो । घरेलु टोली गेटाफेको जितमा एनेस युनलले अेलको नवौँ मिनेटमा गरेको गोल निर्णायक बन्यो । यस अघि मड्रिड पछिल्लो पाँच अवे खेलमा अपराजित थियो ।
जारी लिगमा २० खेलबाट ४६ अंक जोडेको मड्रिड हारपछि पनि शीर्ष स्थानमा यथावत् छ । मड्रिडलाई पछ्याइरहेको सेभियाले १८ खेलबाट ३८ अंक जोडेको छ । तालिकामा १९ खेलबाट २३ अंक जोडेको गेटाफे १२औँ स्थानमा उक्लिएको छ ।
त्यस्तै गए राति नै भएको अर्को खेलमा बार्सिलोनाले आरसीडी मालोर्कालाई १-० अन्तरले पराजित गर्यो । क्याटलान क्लब बार्सिलोनाको जितमा लुक डी जोङले ४४औं मिनेटमा गरेको हेड गोल निर्णायक बन्यो ।
उक्त जितसँगै बार्सिलोना १९ खेलबाट ३१ अंकसहित पाँचौँ स्थानमा छ । पराजित मालोर्का भने समान खेलबाट १९ अंकसहित १५ औं स्थानमा छ ।


