शुक्रबार, भाद्र २६ गते २०८३
images

नागरिकको जीवनरक्षा पहिलो प्राथमिकता : गृहमन्त्री खाँण 

एक्सप्रेस पाना
श्रावण १८, २०७८ सोमबार
  • 355
    SHARES
  • नागरिकको जीवनरक्षा पहिलो प्राथमिकता :  गृहमन्त्री खाँण 

    काठमाडौँ ।  गृहमन्त्री बालकृष्ण खाँणले नागरिकको जीवनरक्षाका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन्। गृह मन्त्रालयमा आइतबार बसेको विपद् व्यवस्थापन समितिको बैठकमा गृहमन्त्री खाँणले नागरिकको जीवनरक्षा सरकारको पहिलो प्राथमिकता भएको भन्दै नागरिकको जीवनरक्षा, उद्धार र राहतमा खटिन सम्बन्धित निकायलाई निर्देशन दिएका हुन्।

    images

    बैठकमा शनिबार राति सिन्धुपाल्चोकको हेलम्बु बजारमा आएको बाढीले चनौटे पुल बगाउँदा सडक सञ्जाल अवरुद्ध भएको भन्दै तत्काल वैकल्पिक पुलको व्यवस्था गर्नुपर्ने बताइएको छ। बाढीपहिरो प्रभावित क्षेत्रमा सहज रुपमा खाद्यान्न र औषधिजन्य सामान ढुवानीको व्यवस्था मिलाउनुपर्ने, बाढीपहिराले क्षति पुर्‍याएको सडक आवागमन सहज बनाउन तीन तहका सरकारी निकायबीच समन्वय गर्न बैठकमा निर्देशन दिइएको छ।

    बाढीपहिराले क्षति पुर्‍याएको सडक पहुँच निर्माणका लागि केन्द्रले अग्रसरता लिनुपर्ने र आवश्यक बजेट व्यवस्थापनका लागि सहजीकरण गर्ने बैठकले निर्णय गरेको छ। तुइन हटाएर झोलुंगे पुल निर्माण कार्यलाई तीव्रता दिनुपर्ने गृहमन्त्री खाँणले बताए। बैठकमा गृह सचिव महेश्वर न्यौपाने, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, मुख्य अनुसन्धान निर्देशक गणेशप्रसाद अधिकारी, गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेललगायत उपस्थिति रहेको थियो। रासस

    images