पुस २४ काठमाडौं । जारी कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता २०७८ अन्तर्गत आठौं चरणको खेलमा दिनेश हेन्जनको निर्णायक गोलमा त्रिभुवन आर्मी फुटबल क्लबले न्युरोड टिम (एनआरटी) लाई १-० ले पराजित गरेको छ ।
शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको दिनको तेस्रो खेलमा १७औं मिनेटमा दिनेशले गरेको गोलबाट आर्मीले अग्रता लिएको थियो । जगजित श्रेष्ठको क्रसमा दिनेशले ६ यार्ड बक्सको लाइनबाट डाइभिङ हेडर गोल गरेका थिए । त्यसपछि बाँकी समय थप गोल नहुँदा आर्मी १-० गोलले विजयी भयो ।
उक्त जितसँगै आठ खेलबाट १४ अंक जोडेको आर्मी चौथो स्थानमा यथावत् छ । आठ खेलबाट १० अंक जोडेको एनआरटी सातौं स्थानमा छ । आइतबार लिगमा एक मात्रै खेल हुनेछ ।


