आइतबार, भाद्र २८ गते २०८३
images

ला लिगा : बार्सिलोना रोकियो, शीर्ष स्थानको रियलको सहज जित

एक्सप्रेस पाना
पौष २५, २०७८ आइतबार
  • 240
    SHARES
  • ला लिगा : बार्सिलोना रोकियो, शीर्ष स्थानको रियलको सहज जित

    एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा शनिबार राति भएको खेलमा बार्सिलोना ग्रानडासँग रोकिँदा रियल मड्रिडले भ्यालेन्सियाविरुद्ध सहज जित निकालेको छ । 

    images

    १० खेलाडीमा सीमित पाहुना टोली बार्सिलोना घरेलु टोली ग्रानडासँग १–१ को बराबरीमा रोकिएको हो । खेलको ५७औं मिनेटमा लुक डि जङले डानी अल्भेसको पास सदुपयोग गर्दै गोल गरे । ७९औं मिनेटमा गाभीले दोहोरो पहेँलोसहित रातो कार्ड बेहोर्दा क्याटलान क्लब बार्सिलोना १० खेलाडीमा सीमित भयो । 

    खेल सकिन १ मिनेटअघि एन्टोनियो पुएर्टासले गोल गर्दै घरेलु टोली ग्रानडालाई हारबाट बचाए । बराबरीसँगै बार्सिलोना २० खेलबाट ३२ अंकसहित छैठौं स्थानमा छ । ग्रानडा समान खेलबाट २४ अंक सहित १२ औं स्थानमा छ ।

    images

    राति नै भएको अर्को खेलमा शीर्षस्थानको रियल मड्रिडले घरेलु मैदानमा भ्यालेन्सियालाई ४–१ अन्तरले पराजित गर्‍यो । सहज जित निकाल्ने क्रममा रियलका लागि करिम बेन्जेमा र भिनिसिउस जुनियरले समान २ गोल गरे । भ्यालेन्सयाका गोनकालो गुडेसले सान्त्वना गोल फर्काए ।  

    खेलको ४३औं मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै बेन्जेमाले टोलीलाई अग्रता दिलाए । ५२औं मिनेटमा भिनिसिउसले २–० बनाए । ६१ औं मिनेटमा भिनिसिउसले ब्यक्तिगत दोस्रो तथा टोलीको लागि तेस्रो गोल गरे । गोनकालोले ७६औं मिनेटमा गोल गर्दै अग्रतालाई ३–१ मा झारे । तर बेन्जेमाले पुनः ८८ औं मिनेटमा गोल गर्दै रियलले सिजनको १५ औं जित पायो । 

    उक्त जितपछि २१ खेलबाट ४९ अंक जोडेको रियलले शीर्षस्थानमा आठ अंकको अग्रता बनाएको  छ । दोस्रो स्थानको सेभिल्लाले एक खेल कम खेल्दै ४१ अंक जोडेको छ । पराजित भ्यालेन्सिया भने २० खेलबाट २८ अंक जोडेर नवौं स्थानमा छ ।