एजेन्सी । आयोजक क्यामरुन र केप भार्डीले अफ्रिका कप अफ नेसन्समा विजयी सुरुवात गरेका छन् । आइतबार रातिबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा क्यामरुनले बुर्किना फासोमाथि २-१ को कठिन जित निकाल्यो ।
खेलको २४औँ मिनेटमा गुत्साभो संगारेले गरेको गोलमा बुर्किना फासोले अग्रता लियो । यसपछि भने घरेलु टोलीले पुनरागमन गर्यो । ४०औँ मिनेटमा कप्तान भिसेन्ट अवौबखारले पेनाल्टीको सदुपयोग गर्दै क्यामरुनलाई खेलमा फर्काए । पहिलो हाफको इन्जुरी समयको तेस्रो मिनेटमा अवौबखारले पेनाल्टी गोलमा क्यामरुनलाई २-१ को जित दिलाए ।
समूह ‘ए’ को अर्को खेलमा केप भार्डीले १० खेलाडीमा सीमित हुँदै खेलको अन्त्य गरेको इथियोपियालाई १-० ले हरायो । पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा जुलियो ताभारेसले गरेको गोल केप भार्डीको जितमा पर्याप्त बन्यो ।
उक्त जितसँगै दुबै टोलीले महत्वपूर्ण तीन अंक जोडेको छ ।


