आइतबार, भाद्र २८ गते २०८३
images

स्वर्ण पदक विजेता सुमन सम्मानित

एक्सप्रेस पाना
पौष २८, २०७८ बुधबार
  • 392
    SHARES
  • स्वर्ण पदक विजेता सुमन सम्मानित

    पुस  २८ काठमाडौं। नेपाल गोजुरियो कराते डो संघले दुई फरक अन्तर्राष्ट्रिय अनलाइन कराते प्रतियोगिताका पदक विजेता सुमन तिमल्सिनालाई बुधबार सम्मान गरेको छ ।

    images

    नेपाल गोजुरियो कराते डो संघ एवं एसियाली गोजुरियो कराते महासंघका महासचिव बीआर मित्र र सागा एडभेन्चर टुर्स एन्ड ट्राभल्स प्रा लिका निर्देशक स्वच्छम गुरुङले सुमनलाई खादा र प्रशंसा पत्रसहित एक कार्यक्रमबीच सम्मान गरे । सुमन सागाका ब्रान्ड एम्बासडर पनि हुन् ।

    ३ देखि ५ डिसेम्बरसम्म भएको टोरोन्टो इन्टरनेसनल इ काता च्याम्पियनसिपमा सुमनले स्वर्ण जितेका थिए । उनले पुरुष सिनियर एकल कातामा स्वर्ण जितेका हुन् । प्रतियोगिता नर्थ अमेरिका स्पोर्ट्स कराते एसोसिएन (एनएसकेए) क्यानाडाले आयोजना गरेको हो ।

    images

    वर्ल्ड युनियन मार्सल आर्ट्स फेडरेसन (डब्लुयुएमएफ) लन्डनको आयोजनामा भएको वर्ल्ड कप कराते इ काता च्याम्पियनसिपमा सुमनले कांस्य जिते । 
    सुमनसहित फिलिपिन्सका खेलाडी संयुक्त रूपमा तेस्रो भएका थिए । श्रीलंकाका खेलाडीले स्वर्ण तथा बंगलादेशका खेलाडीले रजत जितेका थिए । यो प्रतियोगितामा पनि सुमनले पुरुष सिनियर एकल कातामै प्रतिस्पर्धा गरेका थिए ।

    विगतमा सुमनले २०११ मा बंगलादेशमा भएको तेस्रो एसियाली कन्टिनेन्टल कराते प्रतियोगितामा स्वर्ण, २०११ मै श्रीलंकामा भएको प्रथम अन्तर्राष्ट्रिय खुला कराते प्रतियोगितामा स्वर्ण, २०१२ मा भारतमा भएको छैटौं एसियाली गोजुरियो खुला कराते प्रतियोगितामा रजत, २०१६ मा मलेसियामा भएको प्रथम एसियाली प्यासिफिक गोजुरियो कराते प्रतियोगितामा कांस्य तथा २०२१ मा जर्मनीमा भएको चेम्निज खुला अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा समान १-१ स्वर्ण र कांस्य जितेका थिए ।

    सुमन भौतिक उपस्थितिमै हुने दुई अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीमा पनि छन् । फ्रान्समा २१ देखि २३ जनवरीसम्म हुने पेरिस ओपन कराते प्रतियोगिता तथा लन्डनमा ३०  जनवरीमा हुने युरोपियन ओपन कराते प्रतियोगितामा सुमनले सहभागिता जनाउँदै छन् ।