एजेन्सी । रोमाञ्चक बनेको सेमिफाइनल खेलमा क्याटलान क्लब बार्सिलोनालाई ३-२ गोल अन्तरले पराजित गर्दै रियल मड्रिड स्पेनिस सुपर कपको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति साउदी अरबको रियादमा भएको खेलमा रियलले तीन पटक अग्रता लिँदै खेल आफ्नो पक्षमा पारेको हो ।
रियलको जितमा भिनिसिअस जुनियर, करिम बेन्जेमा र फेडेरिको भाल्भर्डेले १/१ गोल गरे । यता बार्सिलोनाको लागि लुक डि जोङ र अन्सु फातीले १/१ गोल फर्काए ।
खेलको २५औँ मिनेटमा भिनिसिअसको गोलमा रियलले अग्रता लियो । ४१औँ मिनेटमा बार्सिलोनाका लुक डि जोङले गोल गर्दै पहिलो हाफ १-१ को स्थितिमा पुर्याए ।७२औँ मिनेटमा बेन्जेमाले रियललाई २-१ को अग्रता बनाए । पुनः फातीले गोल गर्दा खेल ८३ मिनेटमा बराबरीमा पुग्यो । खेलमा इन्जुरी समयको ९ मिनेटमा गोल गर्दै भाल्भर्डेले गोल गर्दै रियललाई फाइनलमा पुर्याए ।
यसअघि म्यानचेष्टर सिटीबाट बार्सिलोना आएका फेरन टोरेसले डेब्युसमेत गरे । तर, उनले चोटका कारण पूरा समय खेल्न सकेनन् । योसँगै जाभि होर्नान्डेजको बार्सिलोना प्रतियोगिताबाट बाहिरिएको छ । रियलले उपाधिका लागि बिहीबार साँझ हुने एट्लेटिको मड्रिड र एथ्लेटिको बिल्वाओबीचको विजेतासँग आइतबार खेल्नेछ ।


