पुस ३० काठमाडौं । जारी कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज शुक्रबारबाट नवौँ चरणका खेल हुँदैछन् । पहिलो दिन त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुई खेल हुनेछन् ।
१ बजे हुने पहिलो खेलमा सशस्त्र प्रहरी बलको एपीएफ फुटबल क्लब र नेपाल आईस हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ । रेलिगेशन जोनबाट उम्कने प्रयास गरिरहेको एपीएफ नविन लामाको कप्तानीमा हुनेछ भने तालिकाका मध्यक्रममा रहेका शेर्पा विश्वास श्रेष्ठको कप्तानीमा मैदान उत्रनेछ ।
एपीएफ ८ खेलमा ७ अंक जोडेर दशौं स्थानमा छ । उसलाई आजको खेलमा जित निकाल्दै कम्तिमा रेलिगेशनको भय हटाउनु छ । शेर्पा भने मध्यक्रममा रहने प्रयासमा हुनेछ । रेलिगेशनको डर टारेको शेर्पाले आफुलाई शीर्ष ६ मा राख्न आजको खेल जित्ने योजना तयार पारेको छ । ८ खेलमा ११ अंक जोडेको शेर्र्पा छैटौं स्थानमा छ । छ ।
आज अपरान्ह पौने ५ बजे हुने खेलमा दोस्रो स्थानको नेपाल आयल निगम मनाङ मर्स्याङ्दी क्लबलाई नवप्रवेशी सातदोबाटो युथ क्लबले चुनौती पेस गर्नेछ ।
अन्जन विष्टको कप्तानीमा रहेको मनाङ लय गुमाएको सातदोबाटोलाई हराउँदै शीर्ष स्थानमा उक्लने दाउमा हुनेछ । सातौ चरणमा शीर्ष स्थानमा रहँदै एएफसी कप छनोट हुने मौका गुमाएको मनाङ लिग उपाधि भने आफ्नो नाममा लेखाउने दाउमा छ । मनाङ १९ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
सुरुवाती खेलमा उत्कृष्ट प्रदर्शन गरेको सातदोबाटोले पछिल्ला खेलहरुमा भने लय बिर्सिएको छ । हाल सातदोबाटो ९ अंक जोडेर आठौं स्थानमा रहेको छ ।


