माघ ४ काठमाडौं । राजधानीमा जारी प्रधामन्त्री राष्ट्रिय टि-२० क्रिकेट प्रतियोगितामा २०७८ मा सशस्त्र प्रहरी बलको एपीएफ क्लब फाइनलमा प्रवेश गरेको छ ।
मंगलबार त्रिवि क्रिकेट मैदानमा भएको दिनको दोस्रो सेमिफाइनल खेलमा अर्को विभागिय टोली नेपाल आर्मी क्लबलाई ४७ रनले पराजित गर्दौ फाइनलमा प्रवेश गरेको हो । अब उसले उपाधिका लागि नेपाल पुलिस क्लब सँग खेल्नेछ । फाइनल बुधबार हुनेछ । पहिलो सेमिफाइनलमा पुलिसले बागमतीलाई ५० रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।
एपीएफले दिएको २३१ रनको विशाल लक्ष्य पछ्याउने क्रममा आर्मी ९ विकेट गुमाएर १८३ रनमै समेटियो । आर्मीका राजेश पुलामीले सर्वाधिक ३८ रन जोडे । यस्तै भीम सार्कीले ३५ तथा सुमित श्रेष्ठले २४ र हरि चौहानले २२ रनको योगदान गरे ।
एपीएफका लागि शरद भेषवाकरले सर्वाधिक ३ विकेट हात पारे । अविनाश बोहरा र भुवन कार्कीले २/२ विकेट लिँदा किशोर महतो र दिपक बोहराले १/१ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २३० रनको विशाल योगफल तयार पार्यो । एपीएफका लागि आसिफ शेखले सर्वाधिक ८४ रनको योगदान गरे । लोकेश बमले १८ बलमा ६६ रन बनाउँदा प्रदीप ऐरीले ५३ बलमा ५७ रनको योगदान गरे ।


