माघ ९ पोखरा । पोखरामा जारी २०औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिता २०७८ मा आज आइतबार एक खेल हुँदैछ ।
पोखरा रंगशालामा हुने दोस्रो क्वाटरफाइनल खेलमा नेपाल आयल निगम मनाङ मर्स्याङ्दी क्लब र विभागीय टोली नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । यी दुई टोलीबीचको खेल दिउँसो २:३० बजे सुरु हुनेछ ।
आजको खेलमा दुबै टोली एक अर्कोमाथि सहज जित निकाल्दै सेमिफाइनल पुग्न चाहन्छ । यस खेलको विजेताले सेमिफाइनलमा त्रिभुवन आर्मी फुटबल क्लब र रुसलान थ्री स्टार क्लबबीचको विजेतासँग खेल्नेछ ।
यस प्रतियोगिामा मनाङ र पुलिस सर्वाधिक सफल टोली हो । जसमा मनाङले ६, पुलिसले ५ पटक उपाधि चुमेका छन् । यस अघि हिजो भएको पहिलो क्वाटरफाइनलमा एपीएफले बीवाईएससी मिनेसोटा युएसएलाई ३-१ गोल अन्तरले हराउँदै अन्तिम चारमा पुगिसकेको छ ।
सहारा क्लब पोखराको आयोजनामा जारी प्रतियोगितामा कुल १० टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेता टोलीले १० लाख १ हजार र उपविजेता टोलीले ५ लाख १ हजार प्राप्त गर्ने छ ।


