माघ ११ पोखरा । सहार क्लब पोखराको आयोजनामा पोखरा रंगशालामा जारी २०औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिता २०७८ अन्तर्गत सेमिफाइनलका खेलदेखि दर्शकहरुका लागि पोखरा रंगशाला खुल्ला गरिने भएको छ ।
स्वास्थ मापदण्ड अपनाई सीमित दर्शकहरुलाई रंगशाला प्रवेश अनुमति दिइने आयोजक सहारा क्लब पोखराले जनाएको छ । यसअघि कोभिडको जोखिम मोल्न नसकिने भन्दै आयोजकले दर्शकबिनाको खेल संचालन गर्दै आएको थियो ।
सेमिफाइनलका खेलहरु बुधबार बाट सुरु हुनेछ । यस्तै मंगलबार जारी अन्तिम क्वाटरफाइनलको खेलमा आर्मी र थ्री स्टार प्रतिस्पर्धा गरि रहेका छन् ।
सहारा क्लब पोखराको आयोजनामा जारी प्रतियोगितामा कुल १० टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेता टोलीले १० लाख १ हजार र उपविजेता टोलीले ५ लाख १ हजार प्राप्त गर्ने छ ।
दर्शकले पालना गर्नुपर्ने नियमहरु :
- दर्शकहरूले स्टेडियम प्रवेश गर्दा खोप कार्ड देखाउनु पर्नेछ ।
- मास्क अनिवार्य लगाउनुपर्छ र प्रवेशद्वारमा सेनिटाइजर उपलब्ध गराइनेछ र आवश्यक परेमा तपाईंले हाम्रा स्वयंसेवकहरू मध्ये एकलाई सोध्न सक्नुहुन्छ ।
-आयोजकहरूले सामाजिक दूरीको नियम कायम गरेर सिटहरू पहिले नै मार्कअप गरिसकेको उक्त नियमको पालना गर्नुपर्नेछ ।
- टिकटहरू प्रभु पे एप वा टिकट भेन्डिङ मेसिन मार्फत खरिद गर्न सकिन्छ ।


