माघ १२ पोखरा । सहारा क्लब पोखराको आयोजनामा जारी २०औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिता २०७८ मा आजबाट सेमिफाइनलका खेलहरु सुरु हुनेछ ।
आज बुधवार हुने खेलमा ए डिभिजन लिग च्याम्पियन मछिन्द्र फुटबल क्लब र विभागिय टोली सशस्त्र प्रहरी बलको एपीएफ फुटबल क्लबबिच हुनेछ । पोखरा रंगशालामा हुने यी दुई टोलीबिचको खेल दिउँसो २:३० बजेबाट सुरु हुनेछ ।
यस खेलमा दुबै टोली एक अर्कोमाथि जित निकाल्दै फाइनल पुग्ने दाउमा रहेका छन् । यस खेलको विजेता टोलीले नेपाल आयल निगम मनाङ मर्स्याङ्दी फुटबल क्लब र त्रिभुवन आर्मी फुटबल क्लबबिचको दोस्रो सेमिफाइनल खेलमा विजेता हुने टोलीसँग उपाधि भिड्न्त गर्नेछ ।
मछिन्द्रले साविको विजेता संकटा फुटबल क्लब तथा एपीएफले बीवाईएससी मिनेसोटा युएसएमाथि सहज जित निकाल्दै सेमिफाइनलमा भेट पक्का गरेका हुने । यस्तै मछिन्द्र पहिलो पटक सेमिफाइनलमा पुगेको हो ।
सहारा क्लब पोखराको आयोजनामा जारी प्रतियोगिताको विजेता टिमले १० लाख १ हजार र उपविजेता टिमले ५ लाख १ हजार प्राप्त गर्ने छ । यस वर्ष पनि स्वर्गीय सूर्यबहादुर केसीको स्मृतिमा उत्कृष्ट ५ विधाको पुरस्कार प्रदान गरिने छ ।


