आइतबार, भाद्र २८ गते २०८३
images

अल्मुताइरीले घोषणा गरेको राष्ट्रिय टोलीमा स्थान बनाउने यी हुन् नौ नयाँ अनुहार

एक्सप्रेस पाना
माघ १२, २०७८ बुधबार
  • 291
    SHARES
  • अल्मुताइरीले घोषणा गरेको राष्ट्रिय टोलीमा स्थान बनाउने यी हुन् नौ नयाँ अनुहार

    माघ १२ काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीमा यस पटक नौ नयाँ अनुहार देखा परेका छन् । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले माघ १५ र १८ मा दशरथ रंगशालामा मौरिसससँग हुने दुई खेलका लागि दुई टोली बनाउँदै ३४ खेलाडीलाई नै अवसर दिएका हुन् । जहाँ उनले पहिलो पटक प्रारम्भिक अभ्यासमा स्थान पाएका नौ खेलाडीलाई नै स्थान दिएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । 

    images

    यस्तै नयाँ खेलाडीमा गोलरक्षकमा टिकेन्द्र थापा, शत्रुघन चौधरी, मिडफिल्डर सुदीप गुरुङ, आकाश बुढा मगर, नवीन गुरुङ, आशिष राई, सुशिल राई फरवार्डमा कृतिश रत्न छुन्जु र प्रशान्त अवस्थी रहेका छन् । यता प्रशिक्षक अब्दुल्लाहले जगजित श्रेष्ठ, विमल घर्ती मगर, दर्शक गुरुङ, सुभाष गुरुङ, एरिक विष्ट र देवेन्द्र तामाङलाई पनि टोलीमा पुनरागमन गराएका छन् ।  

    यी हुन् राष्ट्रिय टोलीमा स्थान बनाउने नयाँ अनुहार 

    images

    टिकेन्द्र थापा
    गोलरक्षक टिकेन्द्र थापा नेपाली फुटबलमा परिचित नाम हो । जावलाखेल युथ क्लबबाट व्यवसयिक फुटबल खेलिरहेका टिकेन्द्रले पहिलो पटक राष्ट्रिय टोलीको प्रारम्भिक अभ्यासमा मौका पाएका थिए । उनी पहिलो अवसरमै प्रशिक्षक अब्दुल्लाहको नजरमा पर्न सफल भएका हुन् । अघिल्ला दुई लिग समेत जावलाखेलबाट खेलेका टिकेन्द्रले पहिलो फ्रेन्चाइज नेपाल सुपर लिगमा भने धनगढी एफसीमा आवद्ध भए पनि अवसर भने पाएनन् । 

    शत्रुघन चौधरी
    विभागीय टोली नेपाल पुलिस क्लबका गोलरक्षक शत्रुघन चौधरी पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका हुन् । जारी लिगमा उत्कृष्ट प्रदर्शन गर्दै प्रशिक्षक अब्दुल्लाहको नजरमा परेका शत्रुघन पुलिसका समेत पहिलो रोजाइका खेलाडी हुन् । उनले ०७५, ०७६ सालको लिगमा समेत पुलिसको गोलपोष्ट समाल्हेका छन् । पहिलो फ्रेन्चाईज सुपर लिगमा भने शत्रुघनले बुटवल लुम्बिनी एफसीबाट दोस्रो रोजाइमा रहेर खेले । 

    सुदिप गुरुङ
    सुदिप गुरुङ समेत राष्ट्रिय टोलीका लागि नयाँ अनुहार हुन् । नवप्रवेशी सातदोबाटोले शीर्ष डिभिजनको पहिलो अनुभव लिएजस्तै सुदीपले समेत पहिलो पटक जारी सहिद स्मारक लिगको अनुभव बटुलेका हुन् । मिडफिल्डर सुदीप बल होल्ड गर्न, लामो सट प्रहार गर्न र विपक्षी रक्षापंक्तिमा दबाब बढाउन सिपालु छन् । ए डिभिजन लिग खेल्नुअघि सुदीपले सातदोबाटोबाट बी डिभिजन लिग खेलेका थिए । जारी लिगमा समेत उनको प्रदर्शन उच्च छ । 

    आकाश बुढा मगर
    आकाश एन्फा एकेडेमीका उत्पादक हुन् । सातदोबाटोलाई जारी लिगमा उत्कृष्ट प्रदर्शन दिएका आकाश पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका हुन् । एन्फा एकेडेमीसँगै आकाशले नेपालको यू९१५, १६ , १८ र १९ टोलीमा समेत खेलेका छन् । पछिल्लो राष्ट्रिय टोलीमा स्थान बनाउने आकाश एन्फा एकेडेमीका एक्ला मिडफिल्डर हुन् । 

    नवीन गुरुङ
    न्यू रोड टिम एनआरटीका नवीन पनि पहिलो पटक राष्ट्रिय टोलीमा परेका हुन् । लेफ्ट ब्याक नवीनलाई प्रशिक्षक अब्दुल्लाहले पहिलो अवसरमै टोलीमा अवसर दिएका छन् । युवा नवीन लेफ्ट ब्याकबाट बल बढाएर क्रस गर्न माहिर छन् । 

    आशिष राई
    आशिष राईले च्यासल युथ क्लबबाट उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । उनले पहिलो अवसरमै टोलीमा स्थान बनाएका हुन् । प्रशिक्षक अब्दुल्लाहले अन्तिममा आशिषलाई प्रशिक्षणका लागि अवसर दिएका थिए । 

    सुशिल राई
    जारी लिगमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी हुने सुशिल राई । सातदोबाटोका लागि खेलिरहेका सुशिललाई शीर्ष डिभिजनमा थ्रीस्टारबाट समेत खेलेको अनुभव रहेको छ । सुशिल पहिलो अवसरमै राष्ट्रिय टोलीमा स्थान बनाउन सफल भएका हुन् । 

    कृतिश रत्न छुन्जु
    जारी लिगमा उत्कृष्ट प्रदर्शन गरिरहेका कृतिश पहिलो पटक राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा परेका थिए र पहिलो अवसरमै टोलीमा स्थान बनाए । लिगमा न्युरोड टिम एनआरटीबाट अग्रपंक्तिमा खेलिरहेका कृतिशले मैदानमा भने कम अवसर पाएका छन् । कृतिश नेपाली फुटबलले पाएको नयाँ नाम समेत हो । 

    प्रशान्त अवस्थी
    जारी लिगको नवौं खेलमा कीर्तिमानी आठौं पटक सहिद स्मारक ए डिभिजन लिग विजेता मनाङ मर्स्याङ्दीविरुद्ध उत्कृष्ट प्रदर्शन गरेपछि सातदोबाटो युथका क्लबका प्रशान्त अवस्थी पहिलो पटक राष्ट्रिय टोलीमा कल भएका थिए । प्रशिक्षक अब्दुल्लाहको सुरुआती प्रशिक्षण लिष्टमा नपरेका प्रशान्त मनाङविरुद्ध मैदानमा छाएपछि अन्तिम समयमा बोलाइएका हुन् । अभ्यासमा समेत आफूलाई प्रमाणित गरेपछि प्रशान्त राष्ट्रिय टोलीमा पहिलो अवसरमै पर्न सफल भए । 

    पहिलाे खेल खेल्ने नेपाली टोली
    गोलरक्षक - किरणकुमार लिम्बु (कप्तान), दीप कार्की, टिकेन्द्र सिंह थापा,
    डिफेण्डर - गौतम श्रेष्ठ, दिनेश राजबंशी, देवेन्द्र तामाङ, सुमन अर्याल, सुरज जिउ ठकुरी, 
    मिडफिल्डर - सुदिप गुरुङ, सुमन लामा, तेज तामाङ, विशाल राई, सुजल श्रेष्ठ, मनिष डांगी, अन्जन बिष्ट, आशिष लामा,
    स्ट्राइकर - दर्शक गुरुङ, विमल घर्ती मगर, सुनिल बल, नितिन थापा, आकाश बुढा मगर, कृतिश रत्न छुन्जु, जगजित श्रेष्ठ

    दोस्रो खेल खेल्ने नेपाली टोली
    गोलरक्षक - किरणकुमार लिम्बू, विशाल श्रेष्ठ, सत्रुघन चौधरी
    डिफेण्डर - गौतम श्रेष्ठ, दिनेश राजवंशी, देवेन्द्र तामाङ, सुमन अर्याल, सुरज जिउ ठकुरी, पुजन उपरकोटी
    मिडफिल्डर - सुमन लामा, तेज तामाङ, नवीन गुरुङ, सुजल श्रेष्ठ, सुभाष गुरुङ, अन्जन विष्ट, आशिष लामा
    स्ट्राइकर - विमल घर्ती मगर, अनन्त तामाङ, आशिष राई, एरिक विष्ट, सुशिल राई, प्रशान्त अवस्थी, सन्तोष तामाङ