माघ १३ पोखरा । पोखरा रंगशामा जारी २०औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिता २०७८ को अन्तिम सेमिफाइनल खेलमा विभागिय टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई हराउँदै नेपाल आयल निगम मनाङ मस्र्याङदी फुटबल क्लब फाइनलमा प्रवेश गरेको छ ।
बिहिवार पोखरा रंगशालामा भएको अेलमा आर्मीलाई टाइब्रेकरमा ४-३ गोलले हराएर मनाङले फाइनलमा स्थान बनायो ।
पोखरा रंगशालामा सम्पन्न खेलको पहिलो हाफमा मनाङका विमल रानाले पेनाल्टी खेर फाल्दा उसले खेलमा अग्रता बनाउने मौका खेर फाल्यो । ९औं मिनेटमा एडिलाजा सोमिडेले क्रस गरेको बलमा आर्मीका युद्ध शाहीले बल क्लियर गर्न खोज्दा हातले बल छोएपछि मनाङले पेनाल्टी पाएको थियो । तर सो पेनाल्टीलाई विमल रानाले सदुपयोग गर्न सकेनन् । उनको प्रहार पोष्टको माथिबाट बाहिरीयो ।
त्यसपछि खेलमा दुबै टिमबाट गोल हुन नसकेपछि खेल अतिरीक्त समयमा पुगेको थियो । त्यसमा पनि गोल नभएपछि खेलको छिनोफानो टाइब्रेकरमा पुगेको थियो । जसमा आर्मीले तीन गोल गर्दा मनाङले चार गोल गर्न सफल भयो ।
अब ६ पटकको च्याम्पियन मनाङले शनिबार उपाधिका लागि एपीएफसँग खेल्नेछ । एपीएफले बलियो टिम मच्छिन्द्रलाई तीन एक गोलले हराउँदै फाइनलमा पुगिसकेको छ । मनाङले यसअघि २०७६ सालमा यो प्रतियोगिताको उपाधि जितेको थियो ।
प्रतियोगिताको विजेताले १० लाख एक हजार र उपविजेताले पाँच लाख एक हजार रुपैयाँ पाउनेछ ।


