काठमाडौँ । चर्चित अर्जेन्टाइनी फुटबल खेलाडी लियोनल मेस्सी फुटबल क्लब बार्सिलोनामा नबस्ने भएका छन्। बिहीबार क्लबले विज्ञप्ति जारी गर्दै मेसी बार्सिलोनामा नबस्ने जनाएको हो।
क्लब र मेसीबीच नयाँ सम्झौतामा हस्ताक्षर गर्ने सहमति बने पनि खेलाडी दर्तासम्बन्धी स्पेनी ला लिगाको नियमका कारण मेसीले बार्सिलोनामा निरन्तरता दिन नसकेको विज्ञप्तिमा जनाइएको छ। ‘एफसी बार्सिलोना र लियोनल मेसी नयाँ सम्झौता हस्ताक्षर गर्ने सहमतिमा पुगे पनि खेलाडी दर्तासम्बन्धी स्पेनी ला लिगाको नियमका कारण सफल हुन सकेन। त्यसैले मेसी बार्सिलोनामा रहने छैनन्।’
गत जुलाई १ तारिखमा बार्सिलोनासँगको करार सम्झौता सकिएका मेस्सी फ्रि एजेन्टको रुपमा रहेका छन् । तर उनले बार्सिलोनामै थप ५ वर्ष रहन सहमति जनाएको खबर यसअघि सार्वजनिक भएको थियो। मेस्सीले हाल पाउदै आएको तलव एवं अन्य सुविधामा आधा कटौती गरेर उनी क्लबमै रहने बताईएको थियो। तर अहिले मेस्सीसँग नयाँ सम्झौताको लागि विभिन्न कठिनाई आएको क्लबको भनाई छ।
खासगरी स्पेनिस लिग फुटबल ला लिगाको व्यवस्थाको कारण मेस्सीसँग सम्झौता हुन नसकेको बार्सिलोनाले जनाएको छ। मेस्सी सन् २०२६ सम्म बार्सिलोनामै रहने भनिएपनि क्लबमा मेस्सी वा अन्य कुनैपनि नयाँ खेलाडी दर्ता गर्न तलब घटाउनुपर्ने बाध्यताको कारण मेस्सीले बार्सा छाड्ने भएका हुन्।
मेस्सीको सम्झौता अप्ठ्यारोमा परेपछि युरोपका अन्य चर्चित क्लबहरुले उनलाई आफ्नो क्लबमा भित्र्याउने प्रयास सुरु गरेका छन्। फ्रान्सको पेरिस सेन्ट जर्मेन र इंग्ल्याण्डको म्यान्चेस्टर सिटीले लामो समयदेखि मेस्सीलाई आफ्नो क्लबमा भित्र्याउने इच्छा देखाईरहेका छन्।


