आइतबार, भाद्र २८ गते २०८३
images

दोस्रो पटक विश्वकप खेल्नेमा नेपाली टोली विश्वस्त

एक्सप्रेस पाना
माघ २५, २०७८ मंगलबार
  • 261
    SHARES
  • दोस्रो पटक विश्वकप खेल्नेमा नेपाली टोली विश्वस्त

    माघ २५ काठमाडौं । नेपाली पुरुष क्रिकेट टोलीका फिनिसर शरद भेषावकरले आईसीसी टि२० विश्वकपको ग्लोबल छनोटबाट टोलीमा ‘कमब्याक’ गर्दैछन् । यहि अवसरमा शरद नेपाली टोलीलाई दोस्रो पटक विश्वकपमा छनोट गराउने योजनामा रहेको बताए । उनकै शब्दमा भन्ने हो भने,‘दोस्रो पटक विश्वकप खेल्ने विषयमा टोली विश्वस्त छ ।’ 

    images

    यसअघि नेपाली टोलीले सन् २०१४ मा ढाकामा विश्वकप खेलेको थियो । त्यस यता, नेपाली टोलीले त्यतिको ठुलो उपलब्धी हासिल गर्न सकेको छैन । तत्कालिन कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिइसकेका छन् । यस पटक टोलीको कप्तानी युवा लेग स्पिनर सन्दीप लामिछानेले गर्दैछन्  । 

    यता, प्रशिक्षक समेत उहि पुबुदु दासानायके नै छन् । उनकै प्रशिक्षणले तत्कालिन समयमा नेपालले विश्वकप खेलेको थियो । सोहि टोलीमा रहेका ज्ञानेन्द्र मल्ल र शरद हाल टोलीको साथमै रहेका छन् । 

    images

    प्रशिक्षक पुबुदुले १६ सदस्यीय खेलाडी यस अघिनै घोषणा गरिसकेका छन् । अनुभवी खेलाडी शरद प्रतियोगिताको दुई खेलमा उत्कृष्ट प्रदर्शन गर्दै नतिजा हात पार्न सके विश्वकपमा पुग्ने आशावादी छन् । ‘दोस्रो पटक विश्वकप खेल्ने विषयमा टोली विश्वस्त छ । दुई खेलमा हामीले हाम्रो उत्कृष्ट प्रदर्शन दियौं भने पक्कै छनोट हुनेछौं ।’ ३३ वर्षीय दाया हाते ब्याटर शरद भन्छन् । ‘मलाई लाग्छ, यो खेल कमब्याक भन्दा पनि अर्को एउटा खेल खेलेको जस्तो लागेको छ ।  टिम पनि सन्तुलित छ । सबै खेलाडीहरू युवा छन् । सबै तयार छन् ।’

    नेपालले आगामी अक्टोबर, नोभेम्बरमा अष्ट्रेलियामा हुने विश्वकपका लागि ६ फागुनदेखि ओमानमा ग्लोबल छनोट खेल्दैछ । ग्लोबल छनोटमा ८ टोलीले प्रतिस्पर्धा गर्ने छन् । ८ टोलीलाई २ समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा नेपालसहित क्यानडा, ओमान र फिलिपिन्स छन् । समूह ‘बी’ मा बहराइन, जर्मनी, आयरल्यान्ड र यूएई छन् । 

    नेपालले ६ फागुनमा आयोजक ओमानसँग, ७ फागुनमा फिलिपिन्ससग र ९ फागुनमा  क्यानडाविरुद्ध खेल्नेछ । दुवै समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा प्रवेश गर्ने छन् । १२ फागुनमा हुने फाइनल खेलका दुई प्रतिस्पर्धी टोली विश्वकपका लागि छनोट हुनेछ ।

    ग्लोबल छनोटअघि नेपालले २८ माघबाट तीन देश सम्मिलित टि२० शृंखला खेल्दैछ । जसअन्तर्गत २८ माघमा ओमान, २९ माघमा संयुक्त अरब इमिरेट्स् (यूएई) र  २ फागुनमा आयरल्यान्डविरुद्ध प्रतिस्पर्धा गर्नेछ । 

    प्रशिक्षक दासानायके भन्छन, टोलीको तयारी योजना अनुसार नै भइरहेको छ
    नेपाली टोलीका प्रशिक्षक पुबुदु दासानायके नेपाली टोलीको तयारी योजनाबद्ध तरिकाले भएको र टोली विश्वकप छनोटका लागि आशावादी रहेको बताउँछन् । ‘अभ्यास योजनावद्द रुपमा भईरहेको छ । सुरुमा केहि चुनौतीको सामना गर्नुपर्यो । अहिले सबै ठिक छ । टोलीको तयारी सबै राम्रो छ । मैले चाहेको जस्तै भएको छ ।’ दोस्रो पटक नेपाली टोली हेरिरहेका पुबुदु भन्छन् । 

    पावर हिटर लोकेश बम र अलराउन्डर विवेक यादवले पहिलो पटक टोलीमा स्थान बनाएका छन् । पछिल्ला वर्षहरूमा नेपालले बलिङमा राम्रो प्रदर्शन दिँदै आए पनि ब्याटिङ सुखद् रहन सकेको छैन । तर, यसपटक टोलीले युवा खेलाडीको साथमा राम्रो प्रदर्शन दिँदै आएको छ । कुशल भुर्तेल, दीपेन्द्र सिंह ऐरी, आसिफ शेख जस्ता खेलाडी यसका उदाहरण हुन् । 

    टोलीका कप्तान सन्दीप सन् २०१४ मा पूर्व कप्तान पारसले खडा गरेको विरासतलाई अगाडि बढाउने जिम्मेवारी आफूसहित टोलीलाई रहेको बताउँछन् । ‘पारस दाईले आफ्नो नेतृत्वमा खेलाएर एउटा विरासत खडा गरेर छोड्नु भएको छ । त्यो विरासतलाई अगाडि लिएर जाने जिम्मेवारी मेरो मात्रै हैन, सबै टिममाथि छ ।

    त्यो  सन् २०१४ को विश्वकप खेलेको क्षणलाई फेरि फिर्ता ल्याएर फेरि विश्वकप खेल्ने मेरो मात्रै हैन पूरा नेपाली जनताको चाहना छ ।’ पहिलो पटक राष्ट्रिय टोलीको कप्तानी समाल्न लागेका २१ वर्षीय सन्दीप भन्छन् । 

    नेपाली टोली 
    सन्दीप लामिछाने (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, आरिफ शेख, करण केसी, जितेन्द्र मुखिया, अभिनाश बोहरा, शाहब आलम, कमलसिंह ऐरी, कुशल मल्ल, विवेक यादव, लोकेश बम, प्रदीप ऐरी । यद्दपी क्यानले अहिलेसम्म उपकप्तान भने घोषणा गर्ने सकेको छैन ।